रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १० तक गाउँका किसानले राम्रो आलु उत्पादन गरेका छन् । पहिलोपटक व्यावसायिक आलु उत्पादनमा जोडिएका तकका किसानहरूलाई अब भण्डारणको चिन्ताले सताउन लागेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत समूह नै बनाएर ६ हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु उत्पादन गरेको समूहका अध्यक्ष मनकुमारी रोकाले जानकारी दिइन् । थवांगी लोकल र जनकदेव जातका करिब चार क्विन्टल आलुको बिउ लगाइएको र अहिले आलु खन्ने क्रम जारी रहेको उनले बताइन् ।
गाउँमा करिब डेढ सय मेट्रिकटनसम्म आलु उत्पादन हुने अपेक्षा गरिएको छ । एक हेक्टरमा २० देखि २५ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नायब प्राविधिक सहायक वसम मल्लले बताए । आलु निकाल्ने क्रम जारी रहेकाले अहिले नै ठ्याक्कै यकिन भन्न नसकिने उनले बताए ।
पहिलोपटक ठूलो मात्रामा आलुखेती गरिएको र राम्रो आलु फल्दा पनि किसानहरू भने खासै हर्षित देखिँदैनन् । नजिकमा ठूलो बजार नरहेको र आलुलाई लामो समयसम्म भण्डारणका लागि व्यवस्था नभएका कारण कुहिएर खेर जान सक्ने भन्दै किसानहरू चिन्तामा छन् । समूहकी अध्यक्ष रोकाले बारीबाट निकालिएको आलु कहाँ राख्ने चिन्ता रहेको बताइन् । गाउँमा भण्डारण केन्द्र नरहेको र घरमा सुरक्षित आलु राख्न सक्ने अवस्था नरेहको भन्दै आलु खेर जाने जोखिम रहेको उनको भनाइ छ ।
एकैपटक धेरै आलु बिक्री गर्न सक्ने अवस्था नरहेको र त्यसरी बेच्दा मूल्य नपाइने किसानको गुनासो छ । यसअघि व्यावसायिक रूपमा आलुखेती नगरिनुको कारण बजार र भण्डारणको व्यवस्थापन नहुनु नै हो । भण्डारण केन्द्र (रस्टिक स्टोर) नहुँदा किसानहरू चिन्तित रहेको परियोजनाका नाप्रास मल्ल बताउँछन् । परियोजनासँग जिल्लाका लागि एउटा मात्र रस्टिक स्टोरको कार्यक्रम रहेको, तर माग धेरै ठाउँमा रहँदा समस्या भएको उनले बताए । गाउँपालिकाका अधिकांश ठाउँमा आलु उत्पादन हुने गरेको छ । तर, भण्डारण केन्द्र नहुँदा बर्सेनि ठूलो मात्रामा आलु कुहिएर खेर जाने गरेको छ ।
गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले आवश्यक पर्यो भने तत्कालै भण्डारण केन्द्रको व्यवस्थापन गर्ने बताए । किसानबाट माग भएमा बजेट विनियोजन गर्ने उनको भनाइ छ । यसपटक सोचेभन्दा बढी आलु फलेको जानकारी आएको र आलुलाई लामो समय भण्डारण गर्न सक्ने व्यवस्थाका लागि गाउँपालिका आफैले पनि सोचिरहेको उनले बताए ।