सातौँ तामाङ ज्ञान महोत्सवको तयारी पूरा भएको छ। महोत्सव भदाै ४, ५ र ६ गते भौतिक र भर्चुअल दुवै माध्यमबाट काठमाडौंको बौद्धमा हुँदै छ।
महोत्सवमा १३ वटा कार्यपत्र प्रस्तुत हुने महोत्सव आयोजक समितिक संयोजक निष्णु थिङले बताए। महोत्सवमा तीनवटा विषयमा प्यानल अन्तर्क्रिया हुनेछ। ‘सरकारी कामकाजमा तामाङ भाषा’, ‘तामाङ लोकसाहित्य : एउटा विमर्श’ र ‘तामाङ मुक्ति आन्दोलनको अबको बाटो’ शीर्षकमा छलफल हुनेछ।
कार्यपत्रहरूले तामाङ सीमान्तकरण, भाषा र मातृभाषामा शिक्षा, खगोलशास्त्र, सरकारी सेवा र संस्कृति, प्रविधिका क्षेत्रहरू समेट्नेछन्। महोत्सवमा ६ जना तामाङ समाजका ज्येष्ठ नागरिकका स्मृति वाचनसत्रसमेत हुनेछ।
तामाङ जातिले प्रत्येक वर्षको भदाै ६ गतेलाई पहिचान दिवसको रूपमा मनाउँदै आएका छन्। जंगवीर तामाङको नेतृत्वको टोलीले तत्कालीन राणा प्रधानमन्त्री भीमशमशेरसमक्ष आफूहरूलाई ‘तामाङ’ भनियोस् भनी मागपत्र राखेकोमा उक्त माग स्वीकार गरी प्रधानमन्त्री राणाले १९८९ भदाै ६ गते नेपाल सरहदभित्र विभिन्न नामले बोलाइने जातिलाई ‘तामाङ’ लेख्न–लेखाउन सनदपत्र जारी भएकोले सोही दिनलाई पहिचान दिवस मानिएको हो।
पहिचान दिवसको उपलक्ष्यमा नेपालका तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय गरी तीनवटा संस्थाको संयुक्त आयोजनामा ज्ञान महोत्सव आयोजना हुन लागेको हो।