भारतीय क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानी फास्ट बलर सोएब अख्तरबीच पिचमा खुबै प्रतिस्पर्धा हुन्थ्यो । सचिनले अख्तरको बललाई छक्का हिर्काउने र अख्तरले सचिनलाई पहिलो बलमै आउट पार्ने रणनीति बनाएका हुन्थे । सन् २००० को दशकमा विश्व क्रिकेटकै यी दिग्गज खेलाडीबीच यस्तै रोमाञ्चक प्रतिस्पर्धा भइरहन्थ्यो । सचिन र अख्तरले क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।
मैदानको पिचमा शत्रुता भावनाका साथ प्रस्तुत हुने यी दुवै खेलाडी बाहिर भने राम्रा साथी हुन् । विश्व क्रिकेटकै तीव्र गतिका फास्ट बलर नाम कमाएका अख्तरले सचिनलाई सुरुवाती दिनमा नचिनेको खुलासा गरेका छन् । पाकिस्तानको घरेलु क्रिकेटमा स्थापित भइसक्दा पनि अख्तरले छिमेकी देश भारतका विश्वचर्चित ब्याट्सम्यान सचिनको नामसमेत सुनेका थिएनन् ।
‘वास्तवमा भारतका स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरको नाम मैले सुनेकै थिइनँ,’ अख्तर भन्छन्, ‘मैले क्रिकेट करिअर सुरु गरेको समयमा सचिन विश्वकै नामी ब्याट्सम्यान भइसकेका थिए ।’ तत्कालीन पाकिस्तानी स्पिनर सक्लेन मुस्ताकले नै सचिनको बारेमा जानकारी दिएको उनले बताएका छन् । ‘सचिन को हुन् ? उनी ब्याट्सम्यान वा बलर भन्नेसमेत थाहा थिएन, मलाई सक्लेन दाइले नै उनको नाम बताउनुभएको थियो,’ हाँस्दै अख्तरले भने, ‘सक्लेनले भनेपछि मात्र थाहा भयो कि वास्तवमा सचिन एक महान् ब्याट्सम्यान रहेछन्, त्यसवेला सचिनले सबै बलरविरुद्ध रन बटुल्थे ।’
मैदानमा पहिलोपटक सचिनसँग आमनेसामने हुँदा आफू नर्भस भएको अख्तरको भनाइ छ । उनी भन्छन्, ‘सचिनसँग पहिलोपटक भेट हुँदा मसँग शब्द नै थिएन, कसरी बलिङ गर्ने र आउट गर्ने भनी योजना मात्र बनाएको थिएँ ।’ सचिनलाई रिभर्स तथा योर्करमा आउट बनाउने योजनाका साथ अगाडि बढेको उनले बताए ।
‘तत्कालकै एक उत्कृष्ट ब्याट्सम्यानलाई आउट पार्न मैले दुईवटा योजना बनाएको थिएँ, पहिलो योर्कर फ्याँक्ने र दोस्रो तीव्र गति बलमा क्याचआउट गराउने थियो,’ उनले भने, ‘योर्कर बलमै सचिनलाई आउट पार्न सफल भएँ ।’