‘नेताहरू चन्दा संकलनमा मस्त, कर्मचारीहरू कमिसनमा रमाउने, ठेकेदारहरू कामै नगरी कमाउने’

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरू चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरू कमिसनमा चलेको, ठेकेदारहरू कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्तिसमेत जनाए । 

‘सरकार बिचौलियाहरूबाट कमाउन व्यस्त छ । नेताहरू चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरू कमिसनमा रमाउने, अनि ठेकेदारहरू काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठ्न थालेको छ,’ उनले भने, ‘आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौ– सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ । राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरूलाई कारबाही हुनुपर्दछ भनेर हामीले भनेका थियौँ । तर, त्यसो हुन सकिरहेको छैन ।’

सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरूलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दबाब दिए । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास निर्माणका कामहरूमा ढिलाइ रहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो । 

सुझावित समाचार