मन परेको हाकिम आए हाजिर, नभए फिर्ता ?

गाउँपालिका अध्यक्ष भन्छन् – मलाई सम्मान गर्नेखालको प्रमुख प्रशासकीयले मात्रै जनताका काम गर्न सक्छन्

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण
मन परेको हाकिम आए हाजिर, नभए फिर्ता ?

बाग्लुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती । तस्बिर : गाउँपालिका

अनुकूल कर्मचारी नपाएको भन्दै स्थानीय तहले मन्त्रालयबाट खटिई आएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेको छ । साउन महिनामा मात्रै साबिकको धौलागिरिका दुई स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । 
बाग्लुङको निसीखोला गाउँपालिकाले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएका कर्मचारी फिर्ता पठाएको हो । मन्त्रालयले खटाएका कर्मचारीलाई फिर्ता पठाएर गाउँपालिकाले प्रशासन शाखा प्रमुखलाई निमित्तको जिम्मेवारी दिएको छ । 
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा गाउँपालिकामा पठाएका ध्रुव रिजाललाई हाजिर हुनै दिएनन् । 
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य सरुवा भएपछि खाली भएको ठाउँमा आएका रिजाललाई काम गर्न नदिई प्रशासन शाखा प्रमुख दिलीपकुमार चन्दलाई अध्यक्ष घर्तीले निमित्त बनाएका हुन् । 
रिजाल मन्त्रालयको मिति २०७९-०४-०५ गतेको पत्र लिएर प्रशासकीय अधिकृतका रूपमा काम गर्न आएका थिए । ‘मन्त्रालयले पठाएको ठाउँमा काम गर्न आएँ, दुई दिनसम्म कार्यालयमा पनि गएँ तर हाजिर गर्न पनि दिइएन, काम गर्न पनि दिइएन,’ रिजालले भने, ‘पालिकामा नराख्ने भए फिर्ता गरेको पत्र दिनुस् भनेर पनि भनेँ तर त्यो पनि दिइएको छैन ।’
रिजालले हाजिर गराई पाऊँ भनी १६ साउनमा गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीलाई निवेदन दिएका थिए । त्यो निवेदन १९ गते दर्ता भएको छ । रिजालले भने, ‘आजसम्म पनि त्यसको जवाफ पाउन सकेको छैन, यसले गर्दा समस्या भएको छ ।’ 
गाउँपालिका अध्यक्ष घर्तीले समन्वय नै नगरी मन्त्रालयले आफूखुसी पठाएका कर्मचारीलाई काम गराउन नसकिने प्रतिक्रिया दिए । गाउँपालिका अध्यक्षलाई सम्मान गर्ने खालको प्रमुख प्रशासकीयले मात्रै जनताका काम गर्न सक्ने घर्तीको प्रतिक्रिया छ । 
यसअघि बाग्लुङकै काठेखोला गाउँपालिकाबाट सरुवा भई म्याग्दीको मंगला गाउँपालिका पुगेका चूर्णबहादुर कार्कीलाई आफूअनुकूल काम नगर्ने भन्दै गाउँपालिका अध्यक्षले फिर्ता पठाएका थिए । कार्की अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएका छन् । 
 

सुझावित समाचार