विषय परिवर्तन गर्न बोर्डमा निवेदन झन्डै १५ प्रतिशतसम्म ‘ड्रपआउट’

एसइई पछिको यात्रा

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण

केही विद्यार्थी कोर्स धेरै पढिसकेपछि पनि विषय परिवर्तनका लागि भौँतारिने गरेका छन् । साथीहरूको लहैलहैमा एउटा विषय पढिसकेपछि आफ्नो कमजोरी थाहा पाएर अर्कोमा जानेहरूको संख्या हरेक वर्षजसो हुने गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा कक्षा ११ मा रजिस्ट्रेसन भइसकेकाले पनि त्यही समयमा विषय परिवर्तन गर्न आउने गरेको बताउँछन् ।

खासगरी साइन्स समूहका विषयमा भर्ना भएका विद्यार्थी आफ्नो रुचि र क्षमता थाहा पाएर अन्य विषयमा सिफ्ट हुन बोर्डमा आउने गरेका छन् । पढ्दै गरेको समयमा रजिस्ट्रेसन गरेर सच्याउने मात्र होइन, सहज नभए परीक्षा फाराम भर्ने वेलासम्म पनि विषय परिवर्तनका लागि बिन्ती गर्ने गर्छन् । अगाडि बढ्नै नसक्ने अवस्था भएपछि फाराम भर्ने समयमा विषय परिवर्तन गर्नेको संख्या भने कम हुने गरेको छ । 

कक्षा ११ मा भर्ना भएका हजारौँ विद्यार्थी ‘ड्रपआउट’ हुने समस्या छ । शर्माका अनुसार कक्षा ११ मा रजिस्ट्रेसन भएका १० देखि १५ प्रतिशत विद्यार्थी ड्रपआउट हुने गरेका छन् । ‘किन ड्रपआउट भएका छन् भन्ने यकिन गर्न अनुसन्धान गर्नुपर्छ, तर हामीले बुझ्दा कतिपय यो उमेरका व्यक्तिले पनि पारिवारको आर्थिक जिम्मेवारी लिनुपर्दा कोही विदेश जाने, कोही देशभित्रै रोजगारीमा लाग्ने र कतिपय शुल्क तिर्न नसकेर छोड्ने गरेको पाइन्छ,’ परीक्षा नियन्त्रक शर्माले भने । कतिपयले सिटिइभिटीलगायतका कार्यक्रममा रुचि राखेर पनि पढाइ छाड्ने गरेका छन् । साइन्समा भर्ना भएकाभन्दा ग्रामीण क्षेत्रमा शिक्षा, मानविकी र व्यवस्थापन विषयका विद्यार्थी धेरै ‘ड्रपआउट’ हुने गरेका छन् । 

एसइईमा राम्रो नतिजा ल्याएका अधिकांश विद्यार्थीले कक्षा ११ मापनि राम्रो नतिजा ल्याउने गरेका छन् । कतिपय एसइईमा मध्यमस्तरको नतिजा भए पनि माथिल्लो कक्षामा रुचि भएका विषय पढेका र मिहिनेत गरेका कारण धेरै प्रगति गरेकोसमेत पाइएको बोर्डका अधिकारी बताउँछन् । 

विद्यार्थीका रुचिअनुसारका विषय
भक्तपुर च्यामासिंहको बागेश्वरी माध्यमिक विद्यालयबाट एसइईमा जिपिए ४ ल्याएकी श्रीषा डिडियाले साइन्स पढ्ने योजना बनाएकी छिन् । उनले कुन विद्यालय छनोट गर्ने भन्नेबारे निर्णय गरेकी भने छैनन् । तर, विज्ञान विषय लिएर पढ्ने उनको इच्छा छ । ‘यसअघिको पढाइमा पनि ध्यान दिन्थेँ । अब त झन् पढाइमा मिहिनेत गर्नुपर्नेछ,’ उनले भनिन्, ‘११ र १२ मा विज्ञान समूहका विषय पढेर त्यसपछि एमबिबिएस पढ्ने मेरो रहर हो ।’

ललितपुरको पुल्चोकमा रहेको त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालयबाट एसइईमा जिपिए ४ ल्याएकी सुजाता ठाकुरको सोच पनि भक्तपुरकी डिडियाको जस्तै छ । उनी पनि विज्ञान विषय पढ्न चाहन्छिन् । त्यसपछि एमबिबिएस पढ्ने उनको इच्छा छ । ‘एसइईमा मिहिनेतअनुसारको नतिजा ल्याएँ, अब आफ्नो रोजाइअनुसारको विषय पढ्छु,’ उनले सुनाइन्, ‘मेरो रहर पनि एमबिबिएस नै पढ्ने हो, त्यसैले अहिले साइन्स पढ्न चाहन्छु ।’ 

कक्षा १२ पछि उच्च शिक्षामा व्यवस्थापन संकाय अध्ययन गर्ने तथा व्यापार–व्यवसाय गर्ने वा उद्यमशील बन्ने चाहना भएका विद्यार्थीका लागि समेत कक्षा ११ मा धेरै विषय रोज्ने अवसर छ । त्यसका लागि कक्षा ११ मा होटेल म्यानेजमेन्टदेखि अकाउन्ट, बिजनेस स्टडिजलगायतका विषय अध्ययनको मौका छ । यी विषयमा धेरै विद्यार्थीको रोजाइसमेत देखिन्छ । भाषामा दखल राख्न चाहने वा समाज बुझ्न चाहनेहरूका लागि समेत धेरै विकल्प रहेका छन् । भाषा अध्ययनका लागि नेपाली, अंग्रेजी तथा अन्य विषय मास कम्युनिकेसन, समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकासलगायतका विषय अध्ययनको अवसर छ ।

भविष्यमा शिक्षक बन्न चाहने र त्यसमा रुचि भएकाहरूका लागि समेत उपयुक्त अवसर छ । केही वर्षयता कानुनमा समेत विद्यार्थीको आकर्षण बढेको पाइन्छ । भविष्यमा कानुनी क्षेत्रमा लाग्न चाहने वा यस क्षेत्रमा जानकारी लिने रुचि भएकाहरूले कानुन पढ्ने अवसरसमेत रहेको छ । 

See More On

सुझावित समाचार