सफा ऊर्जा : तापमान वृद्धिको समाधान

विकसित देशले बढी हरितगृह ग्यास उत्पादन गरे पनि नेपालजस्ता उत्सर्जन कम गर्ने देशले यसको विनाशकारी प्रभाव बढी झेल्नुपर्छ

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

विश्वव्यापी तापमान भन्नेबित्तिकै अब गर्मी बढ्ने भयो भन्ने आमबुझाइ हुन्छ । तर, विश्व तापमानले गर्मी  मात्र बढाउने होइन, यसले प्रकृतिमा पारेको असरले अतिवृष्टि, अनावृष्टि, वनजंगलमा डढेलोजस्ता थुप्रै वातावरणीय असन्तुलनजन्य घटना पनि बढ्छन् । अहिले आममानिसलाई समेत सहजै दृष्टिगोचर र अनुभव हुने गरी विश्वव्यापी तापमान बढिरहेको छ । तापक्रममा भइरहेको वृद्धिका प्रमुख कारकमा जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वनजंगल फँडानी र पशुपालन रहेका छन् । 

यी मानव सिर्जित गतिविधिले वातावरणमा प्राकृतिक रूपमा रहेको हरितगृह ग्यासमा अचाक्ली वृद्धि गरिरहेको छ । पृथ्वीको वायुमण्डलमा रहेका केही ग्यासले हरितगृहमा राखिने सिसाले जस्तै काम गर्छन्, तिनले सूर्यको तापलाई छेकेर फर्किएर अन्तरिक्षमै जानबाट रोक्छन् । जति धेरै तापलाई वायुमण्डलले बाहिर जान रोक्छ, उति नै तामक्रम बढ्दै जान्छ । साथै, कार्बनडाइअक्साइडजस्ता ग्यास बढी ओजन तहमा क्षय हुन्छ र धेरैभन्दा धेरै विकिरणले पृथ्वीमा प्रवेश पाउँछन् । यसले पनि वातावरणीय सन्तुलनलाई बिगार्छ । 

कोइलामा आधारित औद्योगिक क्रान्तिको युग सन् १८५० देखि १९०० बीचको ५० वर्षको अवधिमा औसत विश्व तापमान ०.६ डिग्रीले बढेको देखिन्छ । विश्व वातावरण संगठन (डब्लुइओ) का अनुसार सन् २०११–२०२० त्यसयता रेकर्ड गरिएको सबैभन्दा तातो दशक रह्यो । सन् २०१९ मा विश्वव्यापी औसत तापमान पूर्वऔद्योगिकस्तरभन्दा १.१ डिग्री माथि पुगेको देखिन्छ । मानवप्रेरित विश्व तापमान वर्तमानमा प्रतिदशक ०.२ डिग्री सेल्सियसको दरले बढिरहेको छ । पूर्वऔद्योगिक समयको तापमानको तुलनामा दुई डिग्री सेल्सियसको वृद्धि प्राकृतिक वातावरण, मानव स्वास्थ्य र कल्याणका दृष्टिले गम्भीर नकारात्मक प्रभावयुक्त हुनेछ । यस स्तरको वृद्धिमा विश्वव्यापी वातावरणमा खतरनाक र विनाशकारी परिवर्तन हुने उच्च जोखिम रहन्छ । यसकारण, संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२५ मा विश्वव्यापी तापक्रमलाई दुई डिग्री सेल्सियसभन्दा मुनि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासलाई जारी राख्न मुलुकहरूबीच सहमति भएको छ ।

हाम्रा हरेक दिनका गतिविधिले पृथ्वीको तापक्रम बढ्नमा टेवा पुगिरहेको हुन्छ । जस्तो कि घरबाट निस्किने प्लास्टिकजन्य फोहोर होस् वा खेतिबालीबाट निस्किने पराल, छ्वाली अथवा अरू पात–पतिंगर जलाउँदा होस्, कार्बन उत्सर्जन भइरहेकै हुन्छ । हामीलाई लाग्छ, यति त हो नि ! तर यी क्रियाकलाप वातावरणका लागि घातक छन् । हरेक दिन निस्किने कुहिने, नकुहिने, प्लास्टिकजन्य, विद्युतीय फोहोरलगायत सबै प्रकारका फोहोरको उचित व्यवस्थापन हुन नसक्दा हामीले आजको दिन मात्र नभएर भविष्यमा समेत अनेकन् चुनौती भोग्नुपर्ने हुन्छ । विकसित देशले जति हरितगृह ग्यास उत्पादन गर्छन्, विकासशील देशले त्यति गर्दैनन् । तर, नेपालजस्ता अन्य उत्सर्जन कम गर्ने देशले पनि जलवायु परिवर्तनका विनाशकारी प्रभाव भने उत्तिकै भोग्नुपर्ने हुन्छ । साना, अविकसित र अल्पविकसित देश विश्वव्यापी तापमान वृद्धिका लागि जिम्मेवार छैनन् । तर, हाम्रो जस्तो कृषिमा आधारित देशले जलवायु परिवर्तनको असर उल्लेख्य नै भोग्नुपर्ने हुन्छ । 

तापमान वृद्धिसम्बन्धी समस्याको हल वैकल्पिक अर्थात् सफा ऊर्जा नै हो । प्राकृतिक स्रोतहरूमा, वैकल्पिक ऊर्जाको सबभन्दा उत्तम र अविनाशी स्रोत सौर्य शक्तिको उचित प्रयोग हो । यो प्रभावकारी र दिगो समाधान पनि हो ।

प्राकृतिक प्रकोप कम गर्न हरेक क्षेत्रका मानिसको उत्तिकै भूमिका रहन्छ । हरेक काम गर्दा वैज्ञानिक तरिकाबाट गर्न सके केही हदसम्म पृथ्वीको तापमान कम गर्न योगदान पुग्छ । यसमा भौतिक विज्ञान र यसमा संलग्न व्यक्तिको भूमिका बढी नै अपेक्षित हुन्छ । वैकल्पिक उपाय नअपनाई प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन गर्दा, वातावरणमा कार्बनडाइअक्साइड, मिथेनजस्ता हरितगृह ग्यास उत्सर्जन भइरहेका छन् । हाम्रो यो प्रवृत्ति नै अहिलेका समस्याको जड हो । यी सबै समस्याको हल भनेको वैकल्पिक अर्थात् सफा ऊर्जा नै हो । प्राकृतिक स्रोतहरूमा, वैकल्पिक ऊर्जाको सबभन्दा उत्तम र अविनाशी स्रोत भनेकै सौर्य शक्तिको उचित प्रयोग हो । 

यो प्रभावकारी र दिगो समाधान पनि हो । सौर्य शक्तिलाई अन्य प्रकारको ऊर्जामा पनि परिणत गर्न सकिन्छ । उदाहरणका लागि हाइड्रोजन इन्धन । खेर गएको पानीलाई सौर्य ऊर्जाबाट फोटोइलेक्ट्रोलाइसिस प्रक्रियाबाट विभाजन गरी हाइड्रोजन र अक्सिजनमा छुट्याउन सकिन्छ । हाइड्रोजनलाई इन्धनका रूपमा र अक्सिजनलाई अन्य उद्देश्यमा प्रयोग गर्न सकिन्छ । हाम्रो सानो प्रयासले जलवायुमा ठूलो परिवर्तन त नआउला तर यस विधिबाट केही हदसम्म भए पनि इन्धनमा परनिर्भरता हटाउनचाहिँ सकिन्छ ।

भौतिकशास्त्री अथवा वैज्ञानिकहरूको यसमा ठूलो भूमिका हुन्छ । यस विषयमा आधारभूत खोज भइसकेका छन् । अहिले धेरै वैज्ञानिकको ध्यान कसरी यसलाई उच्च क्षमतायुक्त बनाउन सकिन्छ भन्नेमा छ । यदि जलस्रोतको हाम्रो जस्तो धनी देशमा यस क्षेत्रमा काम गर्न सके हामीलाई भविष्यमा निकै ठूलो लाभ मिल्न सक्छ । विकसित देशमा कसरी इलेक्ट्रोलाइसिसको क्षमता अभिवृद्धि गर्न र धेरै हाइड्रोजन इन्धनको उत्पादन गर्न सकिन्छ भन्नेमा प्रयास भइरहेको छ । उनीहरूले यसको अनुसन्धान तथा विकासमा निकै धनराशी खर्चिरहेका छन् । राम्रै संख्यामा भौतिकशास्त्री र इन्जिनियर उत्पादन गर्ने हाम्रो देशमा यस्तो विषयले उचित स्थान नपाउनु भने विडम्बना हो । 
(पौडेल पिएचडी स्कलर हुन्)

सुझावित समाचार