मुगुमा आधा दर्जन टेलिकम टावर तीन वर्षदेखि अलपत्र अवस्थामा

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

तीन वर्षदेखि अलपत्र अवस्थामा रहेका टेलिकमको टावर दसैँसम्म निर्माण कार्य पूरा गर्न सोरु गाउँपालिकाले दबाव दिएको छ । पालिका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले ठेकेदार कुमार पौडेललाई भेटेर दसैँभित्र निर्माण कार्य पूरा गर्न दबाव दिएका हुन् । सोरु गाउँपालिकाको नार्थपु लामाकाँडा र कच्चेकोट छायानाथ रारा नगरपालिकाको रुगा थार्पलेकमा निमार्णाधीन अवस्थामै  फोरजी टेलिकम टावर छाडिएका छन् । 

उक्त टावर निर्माणका लागि स्मार्ट जलजला जेभी कम्पनीका प्रोप्राइटर कुमार पौडेलले २०७६ मा टेलिकमसँग ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरे पनि लथालिंग अवस्थामा छाडिएका छन् । टावर नबन्दा सिंगै सोरु गाउँपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको भन्दै पालिकाका अध्यक्ष र उपाध्यक्ष काठमाडांै दूरसञ्चारको प्राधिकरणमै पुगेर प्रबन्धक गोपाल केसी र ठेकेदार पौडेललाई भेटेर दबाव दिएका हुन् । मुख्य ठेकेदार आयोजनास्थलमा नगई स्थानीय पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा नार्थपु लामाकाँडा, रुगाथार्प र कच्चेकोटमा टेलिकम फोरजी टावर अलपत्र परेको उनको भनाइ छ । टावर निर्माणलाई चाहिने सामान ढुवानी गर्न जनशक्तिदेखि आर्थिक अभाव भएमा पालिका सहयोग गर्न तयार रहेको उपाध्यक्ष शाहीले बताए । 

उनले भने, ‘दसैँभित्र तीनवटा फोरजी टावर निर्माण कार्य पूरा हुनुप¥यो ।’ अध्यक्ष र उपाध्यक्षले दबाव दिएपछि ठेकेदार पौडेलले दसैँभित्र टावर निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘टावरका केही सामान योजनास्थलमा पुगिसकेको छ केही सामान नेपालगन्जमै छ,’ पौडेलले भने, ‘अब एक साताभित्रै सबै सामान योजनास्थलमा पु¥याएर काम सुरु गर्छौँ ।’ करिब ५० प्रतिशत काम पूरा भइसकेको बाँकी काम तीन महिनाभित्र पूरा गर्ने ठेकेदारको भनाइ छ । 

सुझावित समाचार