द्वन्द्वपीडित भन्छन्– सरकारले ल्याएको विधेयकले न्याय दिन सक्दैन

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकले झनै समस्या थुपारेको भन्दै द्वन्द्वपीडितहरूले आपत्ति जनाएका छन् । सरकारले गत असार ३२ गते प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेको थियो । उक्त विधेयकमा यातना, हत्या, यौन अपराध जस्ता विषयका प्रावधान पीडितलाई न्यायभन्दा पनि पीडा देखिने गरी आएको भन्दै द्वन्द्वपीडितहरूले सरकारको यो विधेयकबाट न्याय नपाउने बताएका हुन् । विधेयकले पीडितलाई झनै पीडा दिने उनीहरूको भनाइ छ । 

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले सरकारले ल्याएको विधेयकले द्वन्द्वपीडितहरूको आशालाई निराशामा परिणत गरेको बताए । उनले गम्भीर अपराधको परिभाषालाई साँघुरो बनाएर विधेयक ल्याइएको बताए । द्वन्द्वपीडितहरूले सात वर्षदेखि निरन्तर विधेयक संशोधन गरेर द्वन्द्वपीडितको माग सम्बोधन गर्न माग गर्दै आए पनि वर्तमान सरकारले पीडितसँग परामर्शसमेत नगरी विधेयक ल्याएको उनको भनाइ छ । ‘जुन मस्यौदा आयो त्यो देखेर दाँतमा ढुंगा लागे जस्तो भयो । मस्यौदामा हाम्रो जे अपेक्षा थियो त्यो पूरा भएन । संशोधन ऐनमा पीडकलाई उन्मुक्ति दिने गरी डिजाइन गरेको देखिन्छ,’ उनले भने, ‘हत्या भएको घटनालाई समेत सामान्य घटना भनेर वर्गीकरण गरिएको छ । हत्या हत्या नै हो, हत्यासङ निर्ममता, क्रुर यातना जोड्नु आवश्यक छैन, त्यसमा हाम्रो आपत्ति रहेको छ ।’

अध्यक्ष अधिकारीले बेपत्ता पारिएका छानबिन र सत्य निरुपणको विषय बुझेका कानुनमन्त्री आउँदा पीडितको माग सम्बोधन हुने अपेक्षा गरे पनि कानुनमन्त्रीप्रतिको अपेक्षा र आशा निराशामा बदलिएको बताए । उनले घटनाको वर्गीकरण, क्रुर घटनालाई सामान्य र मेलमिलाप हुने कुनै मुद्दा नलाग्ने गरी मस्यौदा बनेकोप्रति पीडितहरूको आपत्ति रहेको बताए । 

अधिकारीले सरकारले संसदमा पेस गरेको संशोधन ऐनको मस्यौदामा द्वन्द्वपीडितलाई अझै पीडित बनाउने व्यवस्था राखिएको भन्दै आपत्ति जनाए । यस्तो ऐन राखेर संशोधन भए पनि पीडितले न्याय नपाउने उनले बताए । अधिकारीले  भने, ‘उहाँहरूको बेपत्ता पारिएका को छानबिन तथा सत्य निरुपण तथा मेलमिलापको विषय ठाउँमा ह्याङ ओभर छ त्यसमा पनि माओवादी कांग्रेसलाई त्यस्तो भएको छ । त्यसैले जसरी हुन्छ यो विषयलाई न्याय दिनेभन्दा पनि सामान्य रूपमा सिध्याउने अहिलेसम्मको योजना देखिन्छ । सरकारलाई पीडितहरू मरेमरुन् मतलब छैन ।’ सत्य निरुपणको विषयमा उच्च राजनीतिक नेतृत्व निर्लज्ज देखिएको उनको गुनासो छ । 

२०६३ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धान सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गर्ने व्यवस्था गरिएको थियो । तर, ती आयोग गठन हुन शान्ति सम्झौता भएको मितिले ८ वर्ष लाग्यो । २०७१ सालमा संक्रमणकालीन न्यायका संयन्त्रका रूपमा दुवै आयोग गठन गरिए पनि हालसम्म कुनै प्रगति भएको छैन । 

सुझावित समाचार