नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने, विपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने प्रशिक्षण कार्यशालामा बोल्दै उनले सरकारमा रहँदा एमालेले दूरगामी प्रभाव पार्ने काम गरेको दाबी गर्दै ती कामलाई व्यवस्थित ढंगले जनतामा लैजान जरुरी रहेको बताए ।
स्थानीय चुनावमा चौतर्फी घेराबन्दीबीचमा पनि एमालेले लोकप्रिय मत प्राप्त गरेको उनको दाबी थियो । आगामी निर्वाचनमा जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको उनले बताए । एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डी. आर. घिमिरेका अनुसार कार्यक्रममा उपाध्यक्ष पौडेलले नेकपा एमाले विचार र संगठनका हिसाबले संसारका कुनै पनि पार्टीभन्दा व्यवस्थित र सुदृढ रहेको बताउँदै पछिल्लो समय पार्टी आफ्नो मौलिक अभ्यासबाट स्खलित हुन पुगेको बताएका थिए ।
‘एमालेको सार्वभौमसत्ता एमालेका सदस्यमा निहित रहेकोले सिद्धान्त, नीति र कार्यक्रम कार्यकर्ताले चाहेअनुसार नै हुन्छ । तर, सिद्धान्तको बर्को ओढेर गुटबन्दी गर्ने अधिकार कसैसँग छैन, पौडेललाई उद्धृत गर्दै घिमिरेले भने ।