सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक १५ दशमलव ४९ अंकले बढेर दुई हजार एक सय २७ दशमलव ४७ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स दुई दशमलव ७० अंकले बढेर चार सय पाँच दशमलव ६२ बिन्दुमा पुगेको छ ।
सेयर बजारमा आइरहेको उत्तारचढावले लगानीकर्ता अझै पनि लगानीका लागि पूर्ण सक्रिय हुन सकेका छैनन् । बजार दुई हजारको मनोवैज्ञानिक बिन्दुबाट एक तह उक्लिएपछि साना लगानीकर्ता नाफा बुक गर्न थालेका छन् । बजार बढेसँगै सेयर विक्रेताहरू हाबी भइरहँदा कारोबार अवधिभर तीव्र उत्तारचढाव आएको छ । बजार निकै तल्लो तहसम्म खस्दा लगानीकर्ताले निकै घाटा व्यहोरेका थिए । त्यसैले पनि बजारमा सामान्य नाफा हुँदासमेत सेयर बेच्न हतारिएको ब्रोकरको भनाइ छ ।नयाँ आर्थिक वर्ष सुरु भएपछि कम्पनीहरूले साधारणसभा बोलाउने वेला सुरु भएको छ । लाभांश घोषणा गर्ने समय भएकाले पनि बजारमा उत्तारचढाव आउनु स्वाभाविक भएको ब्रोकरको भनाइ छ ।
करिब पाँच अर्बको कारोबार
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २१ कम्पनीको एक करोड १९ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक सेयर कारोबार हुनेमा अरुण काबेली पावर कम्पनी रहेको छ । कम्पनीको १७ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट, अपर तामाकोसी हाइड्रोपावर, अपि पावर कम्पनी र नागरिक लगानी कोषको १३ करोड रुपैयाँदेखि १५ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स, रिभरफल्स पावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी, मध्यभोटेकोसी जलविद्युत् कम्पनीको ७ प्रतिशतदेखि नौ दशमलव ८९ प्रतिशतसम्मले बढेको छ ।दोहोरो अंकले बढेको बजारमा राधी विद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर्स लक्ष्मी उन्नति कोष र माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतदेखि तीन दशमलव ९१ प्रतिशतले घटेका छन् ।