एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले टी–२० एसिया कपअन्तर्गतका खेलहरू युएईमा गर्ने भएको छ । एसिसीले श्रीलंकासँग आयोजना अधिकार यथावत् राख्दै प्रतियोगिता युएईमा सारिएको हो । श्रीलंकामा आर्थिक संकटका कारण एसिया कप तटस्थ भूमिमा हुन लागेको हो । प्रतियोगिता २७ अगस्टदेखि ११ सेप्टेम्बरसम्म हुनेछ ।
एसिसीले अन्तिम समयसम्म पनि श्रीलंकामै प्रतियोगिता आयोजना गराउन प्रयास भएको जानकारी दिएको छ । तर, श्रीलंकाको परिस्थितिअनुसार टी–२० एसिया कप युएईमा सार्नुपर्ने बाध्य भएको एसिसीको भनाइ छ । ‘श्रीलंकामा एसिया कप आयोजना गर्न सबै प्रयास गरिएको थियो, हामीले धेरै विचार गर्यौँ,’ एसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो छलफलपछि हामीले प्रतियोगिता युएईमा सार्ने निर्णय गरेका हौँ, प्रतियोगिता स्थल युएई भए पनि श्रीलंकाले आयोजना अधिकार पाउनेछ ।’
विश्वकपको तयारीका रूपमा टी–२० एसिया कप महत्वपूर्ण रहेको एसिसीले जनाएको छ । ‘एसिया कपको यो संस्करण हामीहरूको नजरमा निकै महत्वपूर्ण छ, एसियाली राष्ट्रहरूलाई आइसिसी विश्वकपको तयारी गर्न मद्दत पुर्याउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रीलंका र युएई क्रिकेट बोर्डलाई धन्यवाद छ, दुवैले हामीमाथि विश्वास र सहयोग गरेका छन्।’
सन् २०१८ मा अन्तिमपटक खेलिएको एसिया कप टी–२० ढाँचामा खेलाइनेछ । प्रतियोगितामा युएई, कुवेत, सिंगापुर र हङकङसहित भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । पछिल्लो समय युएई विश्व क्रिकेटकै हब बनेको छ । युएईले लगातार विश्व क्रिकेटका ठूला प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ । गत वर्ष इन्डियन प्रिमियर लिग तथा आइसिसी टी–२० विश्वकप युएईले आयोजना गरेको थियो । यी दुवै प्रतियोगिता भारतमा हुने कार्यक्रम तय भएको थियो ।
तीन राष्ट्रले पाए एसोसियट मान्यता
आइसिसीको वार्षिक साधारणसभाले तीन देशलाई नयाँ सदस्यता प्रदान गरेको छ । इंग्ल्यान्डको बर्मिङघममा सम्पन्न साधारणसभाले कम्बोडिया, आइभेरी कोस्ट र उज्वेकिस्तानलाई एसोसिएट राष्ट्रको मान्यता आइसिसीले दिएको हो । कम्बोडिया र उज्वेकिस्तान एसियाली राष्ट्र हुन् । आइभेरी कोस्ट अफ्रिकी राष्ट्र हो । आइसिसीका एक सय आठ सदस्यमध्ये ९६ एसोसिएट राष्ट्र हुन् ।
उज्वेकिस्तान र कम्बोडिया गरी एसियाबाट आइसिसीमा २५ राष्ट्र सदस्य भएका छन् । आइभेरी कोस्ट आइसिसीमा आबद्ध हुने २१औँ अफ्रिकी देश हो । आइसिसीको सदस्य बन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता र पूर्वाधारको मापदण्ड पूरा गरेको हुनुपर्छ । पूर्वाधार, ५० ओभर र २० ओभरको क्रिकेट खेल्न सक्ने राष्ट्रिय पुरुष, महिला र उमेर समूहको टोली हुनुपर्ने आइसिसीले मापदण्ड बनाएको छ ।