उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ। ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र चारवटा स्कुटर सम्बन्धित धनीलाई बुझाइएको हो ।
विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदनपश्वात् परिचालित ट्राफिक प्रहरी टोलीले खोजतलास गरी मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।
‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरू बरामद गर्दै छन्, चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरूमा पठाउने गरेका छौँ,’ उनले भने, ‘अनुसन्धानपश्चात् फेला परेका र बरामद गरेका मोटरसाइकलकहरू सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ ।’