जुम्लाको गुठीचौर गाउँपालिका– १ मा चौँरी गोठालाहरूले आकाशे ताल पत्ता लगाएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ । गुठीचौर– १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार सात सय मिटरको उचाइमा सो ताल रहेको वडाध्यक्ष अर्जुनकुमार महतारालाई उद्धृत गर्दै राससले समाचार लेखेको छ ।
केही दिनअघि वडाध्यक्ष महतारासहितको टोली ताल अवलोकन गरेर फर्केकाे हाे । मणिसाँघुबाट करिब १८ घन्टाको दूरीमा रहेको उक्त आकाशे तालमा पहिलोपटक वडाध्यक्षको टोली पुगेको हो । ‘चौँरी गोठाला मुस्किलले त्यहाँ पुगेका रहेछन्,’ वडाध्यक्ष महताराले भने, ‘चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल भेटिएको रहेछ ।’
सात वर्षअघि पनि चौँरी गोठालाहरूले चार हजार तीन मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली ताल पत्ता लगाएका थिए ।
स्थानीय सांगे गुरुङका अनुसार चौँरी खोज्दै जाने क्रममा गोठाला तालमा पुगेका हुन् । गुरुङका अनुसार तिब्बती भाषामा आकाशे ताललाई म्हाङ्ग्वो युञ्जो भन्ने गरिन्छ । आकाशजस्तो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको हुन सक्ने उनले बताए ।