गोलबजारमा किन भिडे एमाले र माओवादी ?

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले) सिराहाले करार सेवाका कर्मचारी हटाइएको घटनामा नेकपा (माओवादी केन्द्र)का नेताले हस्तक्षेप गर्ने कार्य अमान्य रहेको जनाएको छ। नेकपा (एमाले) जिल्ला कार्य समितिले सिराहामा पत्रकार सम्मेलन आयोजना गरी यस्तो धारण व्यक्त परेको हो।

 आफ्नो दलको नेतृत्व रहेको पालिकामा यसअघिका जनप्रतिनिधिले नियुक्त गरिएका कार्यकर्ता, परिवारका सदस्य, नातागोतालाई अपारदर्शी तरिकाले नियुक्त गरी आर्थिक व्ययभार थपिएकोले हटाइएको प्रस्टीकरण एमालेले दिएको छ। 

नेकपा (एमाले) जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले सिराहाको गोलबजार, भगवानपुर, धनगढीमाई, कर्जन्हा, नरहालगायतको पालिकाबाट करार सेवाका कर्मचारीको पुनः म्याद नथप्ने निर्णय गरेको र त्यसलाई राजनीतिक रंग दिन लागेको जनाएका छन्।

सिराहाको गोलबजार नगरपालिकाले करार सेवाका कर्मचारीलाई म्याद नथप्ने निर्णय गरेको र त्यसविरुद्धमा नेकपा माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले अगुवाइ गरी भड्काउ भाषण गर्नु गैरजिम्मेवार कार्य भएको अध्यक्ष मण्डलले पत्रकार सम्मेलनमा जनाएका छन्। 

‘माओवादी केन्द्रका जिम्मेवार नेताहरूले पदीय जिम्मेवारी र मर्यादाको ख्याल नगरी भड्काउने कार्य गरेको छ,’ अध्यक्ष मण्डलले भने, ‘लोकतान्त्रिक आचरणविपरीतका कार्य रोक्नुपर्छ । यसले द्वन्द्वको अवस्था सिर्जना गर्न सक्छ । जिम्मेवार नेतृत्वको ध्यान पुगोस्।’

गोलबजार नगरपालिकामा निर्वतमान मेयर देवनाथ शाहका भाइ रामनारायण शाह (सहायक कम्प्युटर अपरेटर), सरोज शाह, नाति मनीषकुमार शाह (ओभरसियर) र भदहा विजयकुमार शाह (सहायक कम्प्युटर अपरेटर), माओवादी नेता कसम लामाका भाइ नरेश लामा (अहेव), जगतकुमार श्रेष्ठको छोरा सुजन श्रेष्ठ र भाइ टंककुमार श्रेष्ठ, जगदीश शाहकी छोरी कल्पनाकुमारी शाह (सहयोगी), भतिजा सुमितचन्द सुमन (ओभरसियर), जीवनकुमार यादवको छोरी मनीषाकुमारी यादव (सहायक कम्प्युटर अपरेटर), सालो सुमित चन्द सुमन (ओभरसियर) पदमा नियुक्त रहेको मेयर श्याम श्रेष्ठले जनाएका छन्।

सुझावित समाचार