तामाकोसी–५ जलविद्युत् निर्माण प्रक्रिया अघि बढ्यो

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

माथिल्लो तामाकोसी जलविद्युत्को क्यास्केड आयोजना तामाकोसी–५ को निर्माण प्रक्रिया अगाडि बढेको छ । सोमबार आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनीले सिभिल र हाइड्रोमेकानिकलतर्फको निर्माणको ठेक्काको बोलपत्र आह्वान गरेसँगै निर्माण कार्य छिट्टै सुरु हुने पक्का भएको हो ।कम्पनीले आयोजनाको टनेल निर्माण, विद्युत्गृह निर्माण, पेनस्टक पाइप जडानलगायतका प्रयोजनका लागि बोलपत्र आह्वान गरेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट निस्कने पानी सीधै यस आयोजनाको टनेलमा जोडिने भएकाले छुट्टै बाँध बनाउनुपर्दैन । टेन्डरमा आवेदन दिने म्याद दुई महिना राखिएको छ । 

आवेदन दिएका कम्पनी छनोट गर्नेलगायतका प्रक्रिया पूरा गर्दा कम्तीमा ६ महिना टेन्डर प्रक्रियामै जान्छ । चालू आर्थिक वर्षमै आयोजनाको निर्माण कार्य सुरु गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले बताए । ‘अहिले सिभिल र हाइड्रोमेकानिकलअन्तर्गतका संरचना निर्माण गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाएका छौँ । यसपछि इलोक्ट्रोमेकानिकलअन्तर्गतका संरचना र प्रसारण लाइन निर्माणको ठेक्का दिन छुट्टै टेन्डर आह्वान गर्छाैँ,’ उनले भने, ‘समग्रमा हामी यही आर्थिक वर्षमा आयोजनाको निर्माण कार्य सुरु गर्ने तयारीमा छौँ । निर्माण कार्य सुरु भएको चार–पाँच वर्षमा आयोजना सञ्चालनमा ल्याउने उद्देश्य छ ।’

आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत् कम्पनी नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । सोही कम्पनीले नै चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना बनाएको हो, जुन अहिले सञ्चालनमा आइसकेको छ । सोही आयोजनाबाट निस्कने पानीलाई प्रयोग गरेर ९९ दशमलव ८ मेगावाट क्षमतामा माथिल्लो तामाकोसी–५ जलविद्युत् आयोजना बनाउन लागिएको छ । यो आयोजना बनाउन झन्डै २० अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । त्यसमा कर्मचारी सञ्चय कोषले झन्डै १३ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछ ।
उक्त आयोजनामा लगानी गर्ने गरी कम्पनी र सञ्चय कोषबीच गत साउन ०७८ मा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । यद्यपि, अन्तिम सम्झौता भने हुन बाँकी छ । त्यसबाहेकको लगानी भने कम्पनीले स्वपुँजीका रूपमा गर्नेछ । साथै, स्थानीय जनता र सर्वसाधारणमार्फत पनि लगानी जुटाउने कम्पनीको योजना छ ।

सुझावित समाचार