एउटै रुखमा झुन्डिएकाे अवस्थामा भेटिए तीन किशोरी

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

झापामा एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन् । केचनाकबल– ५ स्थित सुनकोसी चिया बगाननजिकै एक रुखमा उनीहरूको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

केचनाकबल– ५ की १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पनाकुमारी गणेशको शव झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।  चिया बगानमा मजदुरको रूपमा काम गर्दै आएका उनीहरू शनिबार घुम्न भनेर निस्केका थिए । घर नफर्केपछि राति अबेरसम्म खोजी गर्दा उनीहरू आइतबार बिहान झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरू तीनजना नै मिल्ने साथी हुन् ।

तीनजनाकै शव एउटै रुखमा भेटिएपछि घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।  उनीहरूको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । तीनवटै शवको  शरीरमा कहीँ चोटपटक भने नदेखिएको डिएसपी पाठकले बताए । घटनास्थल हेर्दा पनि शंकास्पद अवस्था नदेखिएको उनको भनाइ छ ।  प्रारम्भिक अनुसन्धानले आत्महत्या नै भएको हुन सक्ने देखिएको उनले बताए । ‘के हो भन्ने अवस्था नै रहेन । त्यहाँका मान्छेसँग कुरा गर्दा पनि मर्नुपर्ने कारण खासै भएजस्तो पाएनौँ । उनीहरूका साथीभाइलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘घटनास्थल हेर्दा पनि हत्याजस्तो देखिँदैन । यद्यपि अनुसन्धानकै क्रममा छौँ । घटनास्थलको क्राइम सिन हेर्दा हत्याको संकेत केही देखिँदैन ।’

शनिबार दिउँसो घुम्न निस्किएका कारण परिवारले प्रहरीलाई खबर गरेको थिएन । आइतबार झुन्डिएको अवस्थामा शव देखेपछि मात्र प्रहरीलाई खबर आएको पाठकले जानकारी दिए । अनुसन्धानको क्रममा हालसम्म आत्महत्याको कारण खुल्न नसकेको उनले बताए । ‘मर्नुपर्ने कारण त खासै देखिँदैन । हाँसी खुसी नै थिए । प्रारम्भिक अनुसन्धानमा कहीँ कतै केही नभएको पाएका छौँ,’ उनले भने, ‘तैपनि हामीले गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौँ ।’ प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर पोस्टमार्टमका लागि धरानसम्म पठाएको छ । मेची अस्पताल भद्रपुरमै पोस्टमार्टम हुने भए पनि प्रहरीले संवेदनशील भएकाले धरान पुर्याएको हो । 

उनीहरूको परिवार अति विपन्न परिवार हो । उनीहरूले कोहीसँग पनि झगडा गरेको थाहा नभएको कल्पनाका बुवा वीरबल गणेशले बताए । ‘छटाइफटाई केही थिएन । बगानमा काम गर्थे । मिहिनेती थिए । म त शनिबार बिहान पारि (भारत) गएको थिएँ । दिउँसो नजिकैको पसलबाट चिसो ल्याएर घरमै खाएछन् । बेलुका आउँदा देखिन । गाउँघरमा सोधेँ पनि । तर, कतै पाहुना गए होला । बिहान काम गर्न आइहाल्छन् भन्ने सोचेँ,’ उनले भने, ‘तर, फर्किएनन् । बिहान चियापत्ती टिप्नेले झुन्डिएको छ भन्दा त छक्क परेँ ।’

झुन्डिएको अवस्थामा हेर्दा कपालसमेत नबिग्रिएको उनले बताए । ‘यसो हेर्दा त केही देखिँदैन । तर, के भएर यस्तो भयो प्रहरीले सत्यतथ्य ल्याओस्,’ उनले भने, ‘यस्तो हुनुको कारण पत्ता लगाओस् भन्ने हाम्रो कुरा हो । गाउँमा र काम गर्ने चिया बगानमा कतै झगडा परेको पनि थिएन । कसरी यस्तो भयो थाहा छैन ।’ 

सुझावित समाचार