पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको कर्जन्हा नगरपालिका– ३ बन्दीपुर जनचोकनजिकै पिकअप गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार शनिबार अपराह्न पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.२–०१–००१ च ०३२७ नम्बरकोे पिकअपले बाटो पार गर्न लागेकी करिब १३ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। परिचय नखुलेकी गम्भीर घाइते उनलाई तत्काल फूलकुमारी मेमोरियल अस्पताल लगे पनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।
मृतक बालिकाको घर लहान भएको बताइए पनि थप विवरण खुल्न सकेको छैन। यसबारे सोधखोज गरिरहेको प्रहरी नायव उपरीक्षक वलीले बताए। मृतक बालिकाको शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।