बेलायतमा कन्जर्भेटिभ पार्टीका सदस्यले पार्टीभित्र बहुमत प्राप्त गर्ने तर मतदातामाझ अलोकप्रिय नेतालाई चयन गर्ने सम्भावना देखिन्छ
ऋषि सुनक र लिज ट्रस कन्जर्भेटिभ पार्टीका नेता र बेलायतका प्रधानमन्त्री पदका प्रतिस्पर्धी उम्मेदवार हुन् । दुवै उम्मेदवार कन्जर्भेटिभ सांसदबीच धेरै मत ल्याई शीर्ष दुई दाबेदारका रूपमा छानिएका थिए । र, यी दुवै उम्मेदवार पार्टी सदस्यमाझ समर्थन जुटाउन ग्रीष्मकालीन अभियानमा लाग्नेछन् । हाउस अफ कमन्स लाइब्रेरीका अनुसार सन् २०१९ मा कन्जर्भेटिभ पार्टीमा एक लाख ८० हजार सदस्य थिए ।
कन्जर्भेटिभ पार्टीका सदस्य आफ्नो नेता छनोटमा संलग्न भए पनि धेरै मानिस यो विधिबाट अर्को प्रधानमन्त्री छान्नु अवैधानिक हो भन्ने मान्छन् । विगतदेखि नै प्रधानमन्त्री यसरी छनोट हुने नजिर बसेकाले आममानिसले जेसुकै सोचून्, डाउनिङ स्ट्रिटमा नयाँ नेतृत्व नआएसम्म व्यवस्थामा परिवर्तन हुनेछैन । २१ जुलाईमा जारी गरिएको कन्जर्भेटिभ पार्टीका सदस्यको यु–गोभ सर्वेक्षणमा ६२ प्रतिशतले लिज ट्रसलाई रोजेका छन् भने बाँकी ३८ प्रतिशतले ऋषि सुनकलाई छान्ने बताएका छन् ।
रणनीतिक द्विविधामा पार्टी सदस्य : पार्टी सदस्यका लागि रणनीतिक समस्या किन छ भने सुनकलाई पार्टीबाहिरका कन्जर्भेटिभ मतदाताले ट्रसलाई भन्दा बढी रुचाउँछन् । डेली टेलिग्राफका लागि जेएल पार्टनर्सले गरेको सर्वेक्षणको नतिजा १६ जुलाईमा आउँदा कन्जर्भेटिभ समर्थकमाझ सुनक अग्रणी स्थानमा थिए । सर्वेक्षणमा सहभागी करिब ६० प्रतिशत सुनक एक कुशल प्रधानमन्त्री हुने विश्वास गर्छन्, केवल ११ प्रतिशत मात्रै ठीक विपरीत धारणा राख्छन् । सर्वेक्षणमा ट्रसको आँकडा हेर्ने हो भने ४८ प्रतिशतले प्रधानमन्त्री भएको देख्न चाहन्छन् भने ३२ प्रतिशत मत प्रतिकूल देखिन्छ । तसर्थ, सुनक ट्रसको तुलनामा कन्जर्भेटिभ मतदातामाझ बढी मन पराइने एवं कम विभाजनकारी देखिन्छन् ।
यस खोजलाई ओपिनियमले सञ्चालन गरेको सर्वेक्षणले पनि समर्थन गर्छ, जहाँ सर्वेक्षणका सहभागीलाई १७ जुलाईका दिन आइटिभीमा नेतृत्वबारे भएको छलफलमा उत्कृष्ट उम्मेदवारको नाम दिन आग्रह गरिएको थियो । त्यसवेला प्रधानमन्त्रीका लागि पाँच दाबेदारले दाबी प्रस्तुत गरेका थिए । सर्वेक्षणमा पाँचजनामा सुनक २४ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा परे भने ट्रस सात प्रतिशत ल्याएर अन्तिम स्थानमा परेकी थिइन् । कन्जर्भेटिभ मतदाताले आफ्नो नेता को हुनुपर्छ भनेर गर्ने छनोटमाथि पार्टीका सदस्य असहमत हुनु मुख्य समस्या हो । पार्टी सदस्यले चुनावमा गैर–कन्जर्भेटिभ मतदाताको समर्थन जुटाउने प्रयास गरिरहेका देखिए पनि यी सदस्य गैर–कन्जर्भेटिभ मतदातासँग थप असहमति राख्छन् । अर्थात्, कन्जर्भेटिभ सदस्यले पार्टीभित्र बहुमत प्राप्त गर्ने तर मतदातामाझ अलोकप्रिय रहेको नेतालाई चयन गर्ने सम्भावना देखिन्छ ।

पार्टी सदस्य किन भिन्न छन् ? : यही १९ जुलाईको यु–गोभको सर्वेक्षणले पार्टी सदस्यलाई कन्जर्भेटिभ मतदाताबाट भिन्न छन् भन्ने देखाउँछ । उत्तरदातालाई नयाँ नेतामा कस्ता गुण मन पर्छ भनेर प्रश्न गर्दा धेरै उत्तरदाताले ‘व्यक्तित्व विशेषता’लाई प्राथमिकता दिएका थिए । उत्तरदाता ‘बलियो व्यक्तिगत चरित्र’ भएकालाई खोज्छन्, तर नेतामा इमानदारी र निष्ठाजस्ता गुण प्राथमिकतामा भने रहिरहन्छ । र, उत्तरदाताले ‘बौद्धिक सामथ्र्य’ एवं ‘सञ्चार कौशल’को महत्वलाई माथिका विशेषताका तुलनामा कम मूल्यांकन गरेका थिए ।
पार्टी सदस्यमा नयाँ नेतामा ‘परम्परागत पुरातनपन्थ’को आवश्यकता अर्को शीर्ष उद्देश्य थियो । अर्थात्, सदस्य ‘कर र खर्च घटाउने’ र ‘आप्रवासन नियन्त्रण’ गर्ने नेता चाहन्छन् । मतदाताका लागि भने जीविका लागतको संकट मुख्य मुद्दा बनेको छ । इमानदारीको प्रधानता बोरिस जोनसनका मामिलामा स्पष्ट रूपमा देखिएको हो, तर यी दुई उम्मेदवारका सन्दर्भमा कसलाई बढी वा कम इमानदारका रूपमा मूल्यांकन गरिनेछ भन्नेमा स्पष्टता छैन । यद्यपि, ‘सामथ्र्य’का बारेमा अस्पष्टता छ भन्न सकिँदैन । ट्रस, जो अझै पनि बोरिस जोनसनको काम चलाऊ सरकारका विदेशमन्त्री हुन्, उनी मार्गरेट थ्याचरको सिको गर्ने प्रयास गर्दै युक्रेनमा रुसी आक्रमणविरुद्ध अभियानको नेतृत्व गरिरहेकी छिन् ।
टेन डाउनिङ स्ट्रिटमा पदभार ग्रहण गर्ने (प्रधानमन्त्री बन्ने) बित्तिकै ट्रसले व्यापक कर कटौतीको वाचा गरेकी छिन् । सुनकले चुनाव जितेमा तुरुन्तै कर कटौती गर्न अस्वीकार गर्नु भनेको पार्टी सदस्यविरुद्ध गएको देखिन्छ । यस सन्दर्भमा ट्रसलाई फाइदा हुने देखिन्छ, किनभने पार्टी सदस्यले सर्वेक्षणमा आफू ‘प्रभावशाली आर्थिक व्यवस्थापन’ भन्दा ‘कर एवं खर्च कटौती’ लाई प्राथमिकता दिन्छौँ भन्ने देखाएका छन् ।
एक उथलपुथलकारी सुरुवातले विजेता पर्खिरहेको छ : एकपटक विजेता छनोट भएपछि पार्टी सदस्यले जीविका संकटको बढ्दो लागतलाई सम्बोधन गर्न तीव्र रूपमा पहलकदमी लिन आवश्यक हुनेछ । भर्पाई नगरिएको कर कटौतीले मुद्रास्फीतिको उच्च दरलाई लम्ब्याउने सम्भावना छ र बैंक अफ इंग्ल्यान्डले ब्याजदर बढाएर तथा ऋणमा नियन्त्रण गरेर प्रतिक्रिया दिनेछ । यदि यसो हुन्छ भने सम्भावित प्रधानमन्त्री ट्रसले कि मौद्रिक नीतिका मामिलामा बैंक अफ इंग्ल्यान्डलाई अधिकार क्षेत्र हटाउनुपर्ने हुन्छ, जसले पाउन्डको खरिद बढ्ने सम्भावना निम्त्याउँछ । अथवा ट्रस पछाडि हट्नुपर्ने हुन्छ, अर्थात् प्रतिज्ञा गरिएको कर कटौतीलाई धकेल्नुपर्ने हुन्छ । पहिलो विकल्प मुलुकका लागि घातक हुनेछ भने दोस्रो विकल्प उनको प्रतिष्ठाका लागि घातक हुनेछ ।
यो सबले भविष्यमा संवैधानिक सुधारको आवश्यकतालाई औँल्याउँछ । अर्थात्, सत्तारुढ दलले मध्यावधिमा प्रधानमन्त्रीको विस्थापन गर्नुपर्ने भए आमनिर्वाचन गर्नुपर्छ । कन्जर्भेटिभ पार्टी सदस्यले छान्ने गैर–जनप्रतिनिधित्व अल्पसंख्यकलाई रोक्न पनि संवैधानिक सुधारको आवश्यकता छ ।
द कन्भर्सेसनबाट
(ह्वाइटले एस्सेक्स विश्वविद्यालयको डिपार्टमेन्ट अफ गभर्नमेन्टका प्राध्यापक हुन्)