अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ : स्वीकृति आचार्य र कपिल शर्मा पुरस्कृत

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

नर्वेको ओस्लोमा जारी अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ मा नेपालको राम्राे प्रस्तुति, स्वीकृति आचार्यले बनाइन् नेपालको नयाँ रेकर्ड

नर्वेको ओस्लोमा जारी अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) २०२२ मा नेपालबाट स्वीकृति आचार्य र कपिल शर्मा पुरस्कृत भएका छन् । उनीहरू अनरेबल मेन्सनबाट पुरस्कृत भएका हुन् । यसअघि २०१९ मा बेलायतमा भएको प्रतिस्पर्धामा कार्तिकेश मिश्र र २०२१ मा रसियामा भएको प्रतियोगितामा युवराज सरदाले यो पुरस्कार प्राप्त गरेका थिए। 

६३औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (विश्व प्रतियोगिता) २०२२ नर्वेको ओस्लोमा जारी छ । असार २२ देखि ३२ गतेसम्म जारी रहने प्रतियोगितामा एक सय चार देशको सहभागिता रहेको छ । यस प्रतियोगितामा नेपालले राम्रो नतिजा ल्याएको छ । 

नेपालबाट छानिएका ६ जना विद्यार्थीले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । यो प्रतियोगितामा भाग लिन नेपाल गणित संघका अध्यक्ष दीपक बास्तोलाको नेतृत्वमा नेपाली टोली ओस्लो पुगेको छ । जसमा नेपाल गणित संघका महासचिव सनत आचार्य र कोषाध्यक्ष छवि ढुंगानाको पनि सहभागिता रहेको छ । 

यो प्रतियोगिता सन् १९५९ देखि प्रत्येक वर्ष हुँदै आएको छ ।  नेपाल गणित संघको पहलमा नेपालले सन् २०१७ देखि यस प्रतियोगितामा भाग लिँदै आएको  संघका अध्यक्ष बास्तोलाले जानकारी दिए । नेपालको यो छैटाैँ सहभागिता रहेको उनले  बताए । यस प्रतियोगितामा नेपाललाई सहभागी गराउन गणितविज्ञ भद्रमान तुलाधरको विषेश भूमिका रहेको बास्ताेलाले जानकारी दिए । 

छनाेटका आधार

यस प्रतियोगितामा भाग लिन २० वर्ष उमेर पूरा नभएका, कुनै पनि  विश्वविद्यालयमा स्नातक तहमा भर्ना नभएका विद्यार्थी आ-आफ्नो देशबाट राष्ट्रिय रूपमा छानिन्छन् ।

यस प्रतियोगितामा भाग लिन नेपाल गणित संघको आयोजनामा देशभरबाट पाँच हजार विद्यार्थीले परीक्षा दिएका थिए । यसैमध्येबाट अन्तिम परीक्षामा छनोट भएका ६ जना विद्यार्थी यस प्रतियोगितामा सहभागी भएका हुन् । यस प्रतियोगितामा प्रत्येक वर्ष एउटा देशबाट बढीमा ६ जना प्रतियोगीले मात्र भाग लिन पाउँछन् । 

परीक्षाकाे किसिम

यो प्रतियोगिताको परीक्षा दुई दिनसम्म हुने गर्छ । प्रत्येक दिन तीन–तीनवटा गरी जम्मा ६ वटा प्रश्न सोधिन्छ । तीनवटा प्रश्न समाधानका लागि  साढे चार घन्टाको समय हुन्छ । प्रत्येक प्रश्नको अंकभार सात हुन्छ । 

यस प्रतियोगितामा सहभागी भएकामध्ये करिब ५० प्रतिशतले पदक प्राप्त गर्छन् । १:२:३ को आधारमा स्वर्ण, रजत र कास्य पदक वितरण गरिन्छ । कुनै एउटा मात्र प्रश्नको पूर्णांक प्राप्त गरेमा पनि विद्यार्थीलाई पुरस्कृत गरिन्छ । नेपालबाट यस्तो सम्मान अहिलेसम्म चारजना विद्यार्थीले मात्र प्राप्त गरेका छन् । 

६४औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड जापानमा हुने

६३औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२२ को आयोजना नर्वेको ओस्लो विश्वविद्यालयले गरेको हो । यसैगरी ६४औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२३ को आयोजना जापानले गर्नेछ । यसमा सहभागिता जनाउन देशभरबाट यही साउनको दोस्राे साताबाट छनाेट प्रक्रिया सुरु हुने अध्यक्ष बास्तोलाले जानकारी दिए । 

स्वीकृति आचार्यले बनाइन् नेपालको नयाँ रेकर्ड

यसअघि २०१९ मा बेलायतमा भएको प्रतिस्पर्धामा कार्तिकेश मिश्रले नाै अंक प्राप्त गरी उच्च रेकर्ड राखेका थिए । अहिले स्वीकृति आचार्यले १० अंक प्राप्त गरी नेपालको नयाँ रेकर्ड बनाएकी छिन् । यसैगरी कपिल शर्माले आठ अंक प्राप्त गरेका छन् ।

यसपटकको  प्रतियोगितामा नेपालबाट भाग लिएका विद्यार्थीहरू

यसपटकको जारी प्रतियोगितामा नेपालबाट भाग लिएका विद्यार्थी दर्शन केसी, स्वीकृति आचार्य, रौनकरञ्जन मिश्र, कपिल शर्मा, विवेक यादव, प्रागेश पौडेल रहेका छन् ।

प्रतियोगितामा सहभागी हुँदाको फाइदा

देशको प्रतिनिधित्व गर्दै यस प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई स्नातक अध्ययन गर्नका लागि स्वदेश तथा विदेशका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनका लागि छनोट हुन सजिलो हुन्छ । धेरैजसो विद्यार्थीलाई पूर्णछात्रवृत्तिमा विश्वकै विख्यात विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसरसमेत प्राप्त  हुने गरेको नेपाल गणित संघका अध्यक्ष  बास्तोलाले जानकारी दिए। 

सुझावित समाचार