गुल्मीका १६ युवा उद्यमी सम्मानित, भन्छन् – कार्यालय धाउनेले भन्दा माटोमा रमाउनेले अनुदान पाऊन्

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लाका युवा कृषि उद्यमीलाई सम्मान गरेको छ। बिहीबार केन्द्रले सम्मानसहित ‘सफल कृषि व्यवसायीहरूको उद्यमी यात्रा र प्रेरणादायी कथा सुनौँ’ भन्ने कार्यक्रमको आयोजना गरी १६ कृषकलाई सम्मान गरेको हो । 
संम्मानित हुनेहरूमा कालीगण्डकी–१ का डिलाराम पाण्डे, सत्यवती–४ का प्रेम शाही, चन्द्रकोट–४  का उत्तम खत्री, मुसिकोट–८ का चुमा घर्तीमगर, इस्मा गाउँपालिका–३ का गोकर्ण नेपाली, इस्मा गाउँपालिका ४ का ओम कुँवर रहेका छन् । त्यस्तै, शोभबहादुर घर्ती मदाने गाउँपालिका–३, मुसिकोट नगरपालिका–५ का मनोज पाण्डे र सरोज बेल्बासे, रेसुंगा नगरपालिका–१० का विनोद कुँवर, रेसुंगा–६ का प्रेम नेपाली, छत्रकोट गाउँपालिका–१ का दानबहादुर पल्ली, छत्रकोट–४ का चिरञ्जीवी पन्थ, रुरुक्षेत्र गाउँपालिका–४ का कुलचन्द्र ज्ञवाली, रुरुक्षेत्र–५ का संजय ज्ञवली, रेसुंगा–८ का कमला भलामी सम्मान गरिएको कृषि ज्ञान केन्द्र प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । 

कृषक छनोटका आधार
युवा उद्यमी तथा नव उद्यमी, रोजगारी सिर्जना, प्रविधिमैत्री, यान्त्रीकृत, नवीनतम सोच, बजार योजनामा माग र आपूर्ति सन्तुलनको अवस्था, आम्दानी, रोलमोडल तथा मर्यादित पेसाको रूपमा रूपान्तरण, जिल्लामा उदाहरणको रूपमा देखाउन सकिने र स्थानीय तहबाट पुरस्कृत तथा कृषक पेन्सनमा परेनपरेका आधार हेरेर उद्यमी छनोट गरिएको भण्डारीले बताए । 
 

के थिए उद्यमीका गुनासा
प्रायः कृषि कार्यक्रममा नेताका भाषण किसानले सुन्छन् । तर, बिहीबारको कार्यक्रममा कृषि उद्यमीका गुनासा जिल्ला समन्वय प्रमुख र पालिका प्रमुखहरूले सुने। कार्यक्रममा बोल्दै युवा उद्यमीले बजार, मूल्य र ‘झोले कृषक’को चर्को आलोचना गरे । मह उत्पादक चुमा घर्तीमगरले पहिले खबर गरेर अनुगमन हुँदा झोले कृषक मौलाएको, सरकारी संयन्त्रको झन्झटिलो प्रक्रियाले किसान हैरान भएको बताउँदै वास्तविक किसान र कामको घरमै गएर चेक दिने व्यावस्था सुरु गर्न आग्रह गरे । 

२३ वर्षदेखि तरकारी उत्पादन गर्दै आएका विनोद कुँवरले हाट बजार बन्द हुँदा समस्या परेको बताए । उनले बेमौसमी उत्पादनमा जोड दिन अरू किसानलाई आग्रह गरे । लसुन उत्पादक ओम कुँवरले बजार नहुँदा व्यावसाय चौपट भएको गुनासो गरे । बजार र मूल्यको ग्यारेन्टी सरकारले नगर्दा युवा उद्यमीको सोच, शक्ति र लगानी खेर गएको उनको भनाइ थियो । कृषक चिरञ्जीवी पन्थले कृषकमा प्राविधिक ज्ञान, बजार र माटो परीक्षणको समस्या भएको बताए ।  

कृषक सोबबहादुर घर्तीले अनुदान पूजाको प्रसाद बाँडे जस्तै नबाँड्न आग्रह गरे । उनले सरकारले वास्तविक र झोले किसान पहिचान गर्न नसकेको कारण अनुदानको दुरुपयोग भएको बताए । ‘वास्तविक किसान माटोसँग रमाउँछ । तर, झोले किसान कार्यालय धाउन खप्पिस हुन्छ,’ उनले भने, ‘सरकारका अड्डाले बेलैमा पहिचान गरेर साँच्चिकै किसानलाई लगानी बढाउनुपर्छ । घर्तीले एक सय ५० रोपनीमा तरकारी खेती गरेका छन् ।  स्थायी रूपमा छ र अस्थायी रूपमा १५÷१६ जनालाई काम दिएको  उनले बताए । ११ वर्षदेखि व्यावसायिक कृषिमा लागेका घर्तीले वार्षिक ३० टन तरकारी उत्पादन गर्छन् । 

जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले अब स्थानीय तहका कार्यक्रममा कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै कृषकलाई उत्पादनमुखी अनुदान वितरण गर्नुपर्ने बताए । 
 

सुझावित समाचार