हस्पिटालिटी व्यवसायमा विश्वबजारमा फैलिइरहेको फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुप नेपाल आउने भएको छ । केटिएम हस्पिटालिटीले चितवनको सौराहामा डेढ वर्षदेखि निर्माण गरिरहेको पाँचतारे रिसोर्ट ‘रोयल टुलिप’ ब्रान्डबाट सञ्चालनमा आउने भएको हो । केटिएम हस्पिटालिटीका अध्यक्ष रामेश्वर शाह र लुभ्र होटेल्स इन्डियाका निर्देशक अजय बकायाले मंगलबार ब्रान्ड सम्झौतामा हस्ताक्षर गरेका छन् ।
केटिएम हस्पिटालिटीका अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपाली अर्थतन्त्रको बलियो खम्बाका रूपमा रहेको बताए । कोभिडले थला पारेको पर्यटन क्षेत्रलाई गुणस्तरीय सेवामार्फत पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालनमा ल्याउन लागेको उनको भनाइ थियो ।
लुभ्र होटेल्सका निर्देशक बकायाले नेपाल पर्यटकीय गन्तव्यको ‘हटस्पट’को रूपमा अगाडि बढिरहेको हुँदा भारतीयलगायत विश्वभरबाट आउने पर्यटकलाई आरामदायी र भरपर्दो सेवा दिनेमा विश्वस्त गराए । कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्रान्ड भित्रिनु गौरवको विषय भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देशभित्र रहेको पर्यटकीय सम्भावनाको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।
विश्वबजारमा ११ वटा विभिन्न ब्रान्डसहित उपस्थित रहेको लुभ्र होटेल्स ग्रुपको लक्जरी पाँचतारे होटेल ब्रान्ड ‘रोयल टुलिप’ कोभिडका बीच डेढ वर्षअघि शिलान्यास भएको थियो । रोयल टुलिपले ६४ कोठासहित रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने शाहले बताए । विश्वभरका ६० भन्दा बढी देशहरूमा एक हजार ६ सयभन्दा बढी होटेलहरू सञ्चालन गरेको अनुभवसहितको ब्रान्डसँगको सहकार्यले झनै उचाइमा लैजाने विश्वास शाहको छ ।
करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुइट्लगायत पाँच प्रकारका सुविधासम्पन्न कोठा रहनेछन् । रिसोर्ट निर्माण भइसक्दा करिब ८५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ । यो रिसोर्ट २०८० को दसैँताका सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।