गम्भीर राष्ट्रिय बहसको घेरामा प्रतिष्ठानहरू

विभिन्न व्यक्तिका नाममा खुलेका प्रतिष्ठानमा बजेटमार्फत राज्यले गर्ने लगानीको वार्षिक लेखा परीक्षण महालेखा परीक्षकबाट हुनुपर्छ

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

प्रत्येक वर्ष सरकारले वार्षिक विकास कार्यक्रम (बजेट) प्रस्तुत गरेपछि एक प्रकारको असन्तुष्टि जनस्तरसम्म फैलिन्छ । असन्तुष्टिको केन्द्रमा जनताको दैनन्दिनीलाई सम्बोधन गर्ने कार्यक्रम आएनन् भन्ने हुन्छ । अर्को असन्तुष्टि जनप्रतिनिधिमा देखिन्छ, उनीहरूको असन्तोषचाहिँ आआफ्नो चुनाव क्षेत्रमा विकास निर्माणका लागि रकम विनियोजन नभएको वा कम भएकोमा हुन्छ । जनप्रतिनिधिहरू सरकारको आलोचना गर्ने सामथ्र्यमा रहन्छन्, सर्वसाधारणहरू आफ्ना असन्तोष मौका पाउँदा पोख्छन्, काम गरेर गुजारा चलाउनुपर्ने भएकाले अरू वेला निराश बन्नुबाहेक उनीहरूसँग धेरै विकल्प हुँदैनन् । 

मुलुक संघीय संरचनामा जानुअघि भाग दुई किताब (वार्षिक विकास कार्यक्रमको जिल्लागत विवरण पुस्तिका) संसद्को पिजनहोलमा नराखी विनियोजन विधेयकमाथि संसदीय छलफल नै अघि बढ्दैनथ्यो । माननीयहरू विनियोजनका उद्देश्य र विषय क्षेत्रमा भएको विनियोजनबाट चित्त बुझाउँदैनथे, उनीहरूको स्वाभाविक चासो आफ्नो चुनाव क्षेत्रका कुन–कुन क्रियाकलापमा के–कति रकम विनियोजन भएको छ भन्नेमा हुन्थ्यो । ससाना कार्यक्रममा रकम विनियोजन भएको आश्वस्त भएपछि मात्र बजेट कार्यक्रममाथि छलफल हुन्थ्यो ।

त्यसैले, संसद्मा अर्थ मन्त्रालयले बजेट प्रस्तुत गरेपछि बजेटकै अनुसूची मानिने जिल्लागत विनियोजन विवरण पुस्तिका छाप्न राष्ट्रिय योजना आयोग अहोरात्र खट्ने गथ्र्यो । ठूला र आर्थिक–सामाजिक रूपमा विकासको रणनीतिक महत्व राख्ने योजनामा थोरैको मात्र ध्यान जान्थ्यो भने गाउँ–बस्तीका ससाना विकास संरचनामा धेरैको चासो रहन्थ्यो । परिणामतः भाग दुईमा ससाना आयोजना समावेश गराउने प्रवृत्तिले रणनीतिक आयोजनाहरू ओझेलमा पर्थे, राष्ट्रिय महत्वका आयोजनाले राष्ट्रिय कार्यसूची पाउँदैनथे भने राजनीतिक प्रियताका कार्यक्रमले प्राथमिकता पाउँथे र त्यसैअनुरूप रकम छरिन्थ्यो ।

शक्तिशाली नेता–प्रशासकका जिल्लामा धेरै रकम विनियोजन हुने विकृति हटाउने उद्देश्यसाथ सुरु गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले झनै बेथिति निम्त्याउन पुग्यो । विधि निर्माणमा संलग्न हुनुपर्ने विधायक वडा तहसम्मका कार्यक्रम व्यवस्थापक बन्ने स्थिति आयो । यसबाट राजनीतिक स्रोत परिचालन र नीति–निर्माणको कोर कामबाट जनप्रतिनिधि अलग्गिएर कार्यक्रम व्यवस्थापक बन्ने पृष्ठभूमि तयार भयो ।

मुलुक संघीय प्रणालीमा गएपछि तहगत सरकारले सञ्चालन गर्ने आयोजनाको सामान्य मापदण्ड निर्माण गरियो । संविधानले नै तहगत सरकारको कार्यक्षेत्र निर्धारण गरेकाले विनियोजन पनि स्थानीय, प्रादेशिक र राष्ट्रिय लाभ–प्रभावका आधारमा गर्नुपर्छ भन्ने संघीयताको आशय हो । तर, तहगत सरकारहरू दोहोरो, तेहोरो पर्ने गरी आयोजनालाई वार्षिक विकास कार्यक्रममा स्थान दिन र रकम विनियोजन गर्न उद्यत् देखिन्छन् । पहिलो व्यवहार अभिभावकबाट प्रभावित हुन्छ । वडास्तरमा सञ्चालन हुने ससाना कुलो, बाटो, पुस्तकालय, प्रतिष्ठान, मठ–मन्दिरमा संघ पुगेपछि प्रदेश र स्थानीय तहले पनि त्यही सिके, त्यही गरे । विनियोजनका सिद्धान्त, संघीयताको मर्म, आयोजना व्यवस्थापनका आधार र पैसाको मूल्य (भ्यालु फर मनी) लाई उपेक्षा गरी पेट प्रोजेक्टका लागि ‘पिगी ब्याक फन्डिङ’ हुने परम्परा झनै मौलाएको वार्षिक कार्यक्रम विवरणबाट देख्न सकिन्छ ।

जथाभावी खुलेका प्रतिष्ठानमा बजेट पठाउने होडबाजीले राष्ट्रका लागि जीवन र जवानी उत्सर्ग गर्ने लोकतन्त्रका योद्धाका नाममा गाउँगाउँमा खोलिएका प्रतिष्ठानले स्वयं उनीहरूको प्रतिष्ठाको मानमर्दन गर्ने सम्भावना छ 
 

विगत केही वर्षको कार्यक्रम मागको विश्लेषण गर्दा मठमन्दिर, प्रतिष्ठान र भ्युटावरले निकै प्राथमिकता पाएका छन् । सीमित साधन विनियोजन गर्दा पैसाको मूल्य सिर्जना हुने गरी गर्नुपर्छ । बजेट विनियोजन गर्ने विषय आवधिक योजना र क्षेत्रगत व्यावसायिक योजनाको मार्गदर्शनमा हुनुपर्छ, आयोजना बैंकको अवधारणा यसैका लागि ल्याइएको हो, आयोजना वर्गीकरण गर्ने आधार पनि यसैका लागि हो । बजेट कार्यक्रमका सामान्य मान्यता साधनलाई अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रमा पुर्याउनु हो । दृष्टिकोणहीन नेतृत्वले मात्रै अनुत्पादक क्षेत्रमा साधन विनियोजन गर्न मन पराउँछ, राज्यस्रोतलाई आफ्नै व्यक्तिगत सम्पत्तिजस्तै गरी विनियोजन गर्छन् । विनियोजनको सामान्य सिद्धान्त नै उत्पादनशील लगानीमार्फत अर्थतन्त्रको क्षमता विस्तार वा उत्पादनको मूल्य अभिवृद्धि गर्नु हो । यसको अर्थ राष्ट्रिय व्यक्तित्वका नाममा प्रतिष्ठान खोल्नु हुन्न भनिएको होइन, धार्मिक सांस्कृतिक धरोहर संवर्धन गर्नुपर्दैन भन्ने पनि होइन ।

यसका लागि मापदण्ड चाहिन्छ, प्राथमिकता र जनताका अनुभूत तहका समस्या हेर्नुपर्छ मात्र भन्न खोजिएको हो । राष्ट्रका लागि जीवन र जवानी उत्सर्ग गर्ने लोकतन्त्रका योद्धाहरू सदा पूजनीय हुन्, तर गाउँगाउँमा उनीहरूका नाममा खोलिएका प्रतिष्ठानले स्वयं उनीहरूको प्रतिष्ठालाई उपेक्षा गर्न सक्छन् । उनीहरूले थाहा पाउने भए आफ्नो नामको दुरुपयोग नगर्न आग्रह गर्थे होलान् । जहाँसम्म भ्युटावरको कुरा छ, त्यो समृद्धिको परिचायक हो, समृद्धिमा त्यसको निर्माण गराैँला । तर, हरेक भञ्ज्याङ र डाँडाचोकहरू स्वयं ‘भ्युटावर’ बनिरहेको पहाडी मुलुक नेपालमा भ्युटावरको आवश्यकता नै किन परेको हो ? फेरि भुल्न नहुने कुरा के पनि हो भने शक्तिशालीहरूको दबाबमा यस्ता संरचनामा साधन विनियोजन गर्दा विकासको वञ्चितिमा परेका भूगोल र जनताप्रति अन्याय भइरहेको त छैन ?

चालू वर्षको बजेट कार्यक्रममा गण्डकी प्रदेश सरकारले केही दिवंगत नेताका नाममा प्रतिष्ठान, पार्क तथा स्मारक बनाउन गरेको विनियोजनको विषयले निकै आलोचना खेपिरहेको छ । निकै शालीन व्यक्तित्व मानिएका गण्डकी सरकारका मुख्यमन्त्रीसमेत प्रतिष्ठानका कार्यक्रमका विषयमा आलोचित भए । यस प्रकारको विनियोजन पहिले पनि नभएको होइन । बजेट विवरण टाइप गर्ने र रुजु गर्ने कर्मचारीले पनि आफ्ना खेतमा जाने बाटो र स्वर्गीय हजुरबुबाको नाममा रकम विनियोजन गरेका रहेछन्, जुन त्यति धेरै चर्चामा आएन । सायद जिम्मेवारी लिने व्यक्तित्वको स्तर र ओहोदाका आधारमा पनि आलोचनाको आकार ठूलो वा सानो हुन्छ ।

विगतदेखिको यस प्रवृत्तिले वार्षिक विकास कार्यक्रमलाई नराम्री ङ्याँकेको छ र यो संघबाट प्रदेश अनि स्थानीय तहमा समेत विस्तार भएको छ । यसबाट सीमित स्रोतको दुरुपयोग त भएको छ नै, श्रद्धेय नेताहरूको प्रतिष्ठामा समेत आँच पुर्याएको छ, उनीहरूको त्याग र उत्सर्गप्रति नै नकारात्मक धारणा बनेको छ । राज्यले स्थापना गर्ने प्रतिष्ठानको संख्या निकै सीमित हुनुपर्छ । राष्ट्रको शिर उठाउने योगदान गर्ने व्यक्तित्वका नाममा मात्र प्रतिष्ठान खोलिनुपर्छ । प्रतिष्ठानको उद्देश्य आफैँमा पवित्र हुनुपर्छ । उनीहरूको नाममा राजनीतिक, आर्थिक र धार्मिक अभीष्ट साध्य गर्ने सोच राखिनुहुन्न । ठूला नेता नै संयोजक रहेका यस्ता प्रतिष्ठानमा सरकारले उपलब्ध गराएको साधनको उपयोग कसरी भइरहेको छ भन्ने विषय परीक्षण र अनुगमनका दायरामा आउने विषय हुन् । तर, नेपालमा त्यसो गरिएको छैन । एकै प्रतिष्ठनमा एकै आर्थिक वर्षमा धेरै निकायबाट रकम खर्च हुँदै आएका छन् । राजनीतिक नेतृत्वलाई प्रभाव पार्न सकिने भएकाले अ/गैसस पनि आफ्नो नेपाल प्रवेशबिन्दु प्रतिष्ठानलाई बनाउन लागिपरेका छन् । यसले त झन् राष्ट्रिय प्रणाली र प्राथमिकता नै प्रभावित हुने र जसको नाममा प्रतिष्ठान खोलिएको छ, उसैको पनि बदनाम हुने सम्भावना छ । 

यी तथ्यका आधारमा सरकारबाट प्रतिष्ठान स्थापना गर्ने र रकम विनियोजन गर्ने सम्बन्धमा मापदण्ड नै स्थापना गर्नुपर्ने आवश्यकता देखिन्छ । किनकि जनताबाट संकलन गरिएको राजस्व र राष्ट्रको सम्पत्तिको उपयोगको विषय जनताकै सम्मति र नियन्त्रणमा मात्र हुने संवैधानिक आर्थिक कार्यप्रणालीको सिद्धान्त हो । जवाफदेही राज्यप्रणालीमा जनताको पैसाको मूल्य सुनिश्चित हुने गरी मात्र साधन विनियोजन गर्नुपर्छ, त्यहाँ कुनै गर्भित आशयले स्थान पाउनुहुन्न । यसर्थ, यस्ता प्रतिष्ठानका बजेट विनियोजन सम्बन्धमा कम्तीमा यी पाँच कुरा स्पष्ट पार्नुपर्छ । पहिलो, राष्ट्रलाई कति योगदान गरेको व्यक्तिलाई राष्ट्रिय व्यक्ति भन्ने सोको आधार स्थापना गर्नुपर्छ । दोस्रो, स्थापित आधारमा राष्ट्रिय व्यक्तित्वको सूचीकरण गर्नुपर्छ ।

तेस्रो, संघ, प्रदेश वा स्थानीय तहबाट गर्ने विनियोजनको वस्तुगत आधार बनाई सर्वसाधारणलाई जानकारीमा ल्याउनुपर्छ । चौथो, प्रतिष्ठानको संख्या कति ? एउटा राष्ट्रिय व्यक्तित्वका नाममा गाउँ वा प्रदेशका विभिन्न स्थानमा पार्क, स्मारक, भवन वा क्रियाकलाप सञ्चालन गर्न आवश्यक हो या होइन, सोको आधार चाहिन्छ । के भुल्नुहुन्न भने राष्ट्रिय व्यक्तित्वको आदर्श अवलम्बनबाट राज्य सञ्चालन हुने हो, उनीहरूका नाममा धेरै संस्था संरचना खोल्ने होइन । र, पाँचौँ, सार्वजनिक साधन वा सार्वजनिक जग्गाजस्ता सम्पत्ति विनियोजन हुँदा सोको अनुगमन र फलास रिपोर्ट जारी गर्ने विषय निर्धारण गर्नुपर्छ । सोको वार्षिक आर्थिक परीक्षण महालेखा परीक्षकबाट हुनुपर्छ । साथै यस्ता राष्ट्रिय व्यक्तित्व कुनै दल वा समुदाय वा सीमाभन्दा राष्ट्रकै निधि भएकाले प्रतिष्ठानको क्रियाकलापका विषयमा वार्षिक रूपमा सामाजिक विवेचना गर्ने पद्धति अपनाउनुपर्छ । यो सामाजिक बहसको विषय हो । तर, कुनै समुदाय वा राजनीतिक दललाई सार्वजनिक स्रोतसाधन र जग्गाको प्रयोग नगरी प्रतिष्ठान सञ्चालन गर्न भने रोक्नु हुँदैन । केवल प्रतिष्ठानका नाममा हुने राज्यस्रोतको उपयोगलाई व्यवस्थित गर्ने मापदण्ड निर्धारण गर्न मात्र आवश्यक भएको हो । 
(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्) 

सुझावित समाचार