तिब्बत जोड्ने १८ किलोमिटर सडक सेनाद्वारा सडक विभागलाई हस्तान्तरण

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण
तिब्बत जोड्ने १८ किलोमिटर सडक सेनाद्वारा सडक विभागलाई हस्तान्तरण

तिब्बत जोड्ने बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडकखण्डअन्तर्गतको १८ किलोमिटर सडक हस्तान्तरण गर्दै नेपाली सेना । तस्बिर : नयाँ पत्रिका

तिब्बत जोड्ने सडकखण्डको १८ किलोमिटर सडक नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभानसम्मको सडक सोमबार एक कार्यक्रमका बीच सडक विभागलाई हस्तान्तरण गरिएको नेपाली सेनाका प्राविधिक सेनानी विनोद भट्टले बताए । नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक गोरखामा रहेको सडक विभागअन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरिएको भट्टले बताए । 

नेपाली सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलले अहिले सम्म ३२ दशमलव पाँच किलोमिटर सडकको ट्र्याक खोलेको छ । योमध्ये १८ किलोमिटर खण्ड आयोजनालाई हस्तान्तरण गरेको हो । ‘१८ देखि ३२.५ किलोमिटरसम्म ग्रेड मिलाउनुपर्ने केही काम बाँकी छ । यो पनि छिटो सकेर हामी हस्तान्तरणको प्रक्रियामा जानेछौँ,’ प्राविधिक सेनानी भट्टले भने । 

धार्चे र चुमनुब्रीका स्थानीय सहज रूपमा सवारीसाधन आउजाउ गर्न मिल्ने भएको र उनीहरूको मागका आधारमा सेनाले निर्माण पूरा भएको १८ किलोमिटर सडक हस्तान्तरण गरेको जनाएको छ । गोरखाको चुमनुब्री गाउँपालिकामा अझै गाडी पुग्ने सडक बनिसकेको छैन । हाल सडक ट्र्याकले चुमनुब्रीलाई छोएको र मंसिरसम्म सिर्दिबासमा गाडी पुर्याउने योजना रहेको सेनाका प्राविधिक सेनानी विनोद भट्टले जानकारी दिए । उनका अनुसार अहिले विभिन्न तीनवटा क्याम्पमा रहेर करिब एक सय ५० जनाले काम गरिरहेका छन् । 

यो गोरखा र तिब्बत जोड्ने सडक हो । हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको ९२ किलोमिटरमध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ । १४ दशमलव पाँच किलोमिटर सडकको ट्र्याक खोलिसकिएको र करिब ६० किलोमिटर सडकको ट्र्याक खोलिएको छैन । बेनिघाट–आरुघाट–आर्खेत सडक ०५२ सालमा निर्माण सुरु भएको हो । ०६३/६४ मा बेनीघाट–लार्के भञ्ज्याङ सडक नामकरण गरी सडक विभागलाई निर्माणको जिम्मा दिइयो ।

०६६/६७ मा सडक आयोजनाले निर्माण सुरु ग¥यो । तर, भौगोलिक विकटता, कडा चट्टान विस्फोट गर्नुपर्नेलगायत कारण हावाडाँडादेखि माथि आयोजना कार्यालयले सडक निर्माण गर्न सकेन । अन्ततः मन्त्रिपरिषद्को निर्णयबाट ०७३ मंसिर २६ गते हावाडाँडादेखि लार्के भञ्ज्याङसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पायो । ०७४ वैशाख ११ गतेबाट सेनाले ट्र्याक खोल्न सुरु गरेको प्राविधिक सेनानी भट्टले बताए । गोरखाको दुर्गम पालिका चुमनुब्री गाउँपालिका सडक सञ्जालले नजोडिँदा यहाँका सर्वसाधारण ढुवानीमा खच्चड र उपचारमा हेलिकोप्टरको भर पर्नुपर्ने बाध्यता छ । 

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले धेरै समस्याका बीच पनि सेनाले सडक निर्माण गर्न सफल भएको बताउँदै उक्त खण्ड नियमित सवारीसाधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराए । 

See More On

सुझावित समाचार