संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नै कार्यकालमा भारतबाट नयाँ हवाई प्रवेश रुट प्राप्त गर्ने दाबी गरेका छन् । भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज प्रवेश बिन्दुका विषयमा भारतसँग उच्च तहबाटै प्रयास जारी रहेको बताउँदै उनले छिट्टै पश्चिमतर्फको हवाई रुटको अनुमति प्राप्त गर्ने विश्वास व्यक्त गरे । अहिले विदेशबाट काठमाडौं र भैरहवाका लागि आएका अन्तर्राष्ट्रिय जहाजहरू सिमरा हुँदै नेपाल भित्रिने गरेका छन् ।
सोमबार नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूसँग काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा मन्त्री श्रेष्ठले लुम्बिनीलाई विश्वभरिका बौद्धमार्गी पर्यटकको आकर्षण बनाउनुपर्ने बताए । ‘लुम्बिनी विश्वभरका बौद्धमार्गीहरूको पवित्र धार्मिकस्थल हो,’ उनले भने, ‘संसारभरका बुद्धिस्टहरूलाई कम्तीमा जीवनमा एकपटक लुम्बिनी पुगियो भने मेरो जन्म सार्थक हुन्छ भन्ने फिलिङ्स सिर्जना गरिदिनुपर्छ ।’ अहिले भैरहवाको गौतम बुद्ध विमानस्थलमा जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ ।
लुम्बिनीमा पर्यटकको आकर्षण बढाएर नेपालीको श्रम गन्तव्य मुलुकहरूका मात्र नभई पर्यटक आउने मुलुकबाट पनि वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् । ‘नेपाली उड्डयन क्षेत्रलाई युरोपेली युनियनले सुरक्षा चासोको सूचीमा राख्दा नेपाली वायुसेवालाई युरोप उडानमा प्रतिबन्ध छ,’ उनले थपे, ‘त्यो सुरक्षा लिस्टबाट नेपाली उड्डयन क्षेत्रलाई छिटोभन्दा छिटो हटाएर युरोपसम्म सीधा उडान गर्न मेरो हदैसम्मको प्रयास रहनेछ ।’
नेपालको पर्यटन प्रवद्र्धनका लागि विदेशस्थित नेपाली दूतावास र राजदूतहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । राजदूतावासहरू नै विदेशमा देशको प्रतिनिधित्व गर्ने आधिकारिक निकाय भएकाले नेपालबारे सकारात्मक सन्देश प्रभाव गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
पर्यटन सचिव महेश्वर न्यौपानेले अन्तर्राष्ट्रियस्तरमा देशको छवि निर्माणमा राजदूतहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले दूतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र पर्यटन बोर्ड सधैँ तयार रहेको पनि बताए । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाली आकाश सुरक्षित रहेकाले नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम चिर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा जापानमा लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका सुशील लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे, अस्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल, साउथ अफ्रिकाका लागि दानबहादुर तामाङलगायत राजदूतहरू सहभागी थिए । उनीहरूले नेपालको प्रवद्र्धनका लागि देशअनुसार फरक–फरक प्रवद्र्धनात्मक सामग्री तयार गर्नुपर्ने, विदेशमा गरिने कार्यक्रमका लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दूतावाससँग समन्वय गर्नुपर्नेमा जोड दिए ।
नवनियुक्त राजदूतहरूले नेपालको पर्यटन विकासका लागि हवाई कनेक्टिभिटी अत्यावश्यक भएको बताउँदै देशको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले आफू कार्यरत देशबाट मुलुकमा लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी काम गर्ने बताए । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बोर्डले नेपालको पर्यटन प्रवद्र्धनमा दूतावासहरूसँग सहयोगको अपेक्षा गरेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले नेपाल हवाई उड्डयनमा आइकाओको मापदण्डअनुरूप सुरक्षित गन्तव्य रहेको बताए । उनले राजदूतहरूसमक्ष नेपालको हवाई सुरक्षाका विषयमा फैलिने गरेको भ्रम चिर्दै आफू कार्यरत देशबाट नेपाल भ्रमणमा जान त्यहाँका नागरिकलाई अभिप्रेरित गर्न आग्रह गरे ।