पछिल्लो १० वर्षमा लमजुङका वन्यजन्तुपीडितका लागि १६ लाखभन्दा बढी राहत रकम वितरण भएको छ । वन्यजन्तुको आक्रमणबाट मानवीय तथा पशुधनमा क्षति पुगेपछि डिभिजन वन कार्यालय लमजुङले सम्बन्धित व्यक्तिहरूलाई सो राहत रकम उपलब्ध गराएको हो ।
कार्यालयले आव ०६९/७० देखि चालू आव ०७८/७९ सम्मको अवधिमा १६ लाख चार सय २६ रुपैयाँ राहत रकम वितरण गरेको जनाएको छ । कार्यालयका अनुसार पछिल्लो १० वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति भएका पीडित परिवारलाई १२ लाख ९७ हजार तीन सय ७५ रुपैयाँ राहत वितरण गरेको छ भने मानवीय क्षतितर्फ तीन लाख तीन हजार ५१ रुपैयाँ राहत उपलब्ध गराएको छ ।
डिभिजन वन कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लामा आव ०७१/७२ बाहेक सबै वर्षमा वन्यजन्तुले पशुधनमा क्षति पुर्याएको छ । त्यसैगरी, आव ०७३/७४ र आव ०७६/७७ देखि हालसम्म जिल्लामा वन्यजन्तुबाट कुनै पनि मानवीय क्षति नभएको तथ्यांकमा उल्लेख छ ।
कार्यालयका अनुसार आव ०६९/७० मा जिल्लामा एक लाख ६४ हजार पाँच सय रुपैयाँ पीडितलाई राहत उपलब्ध गराइएको तथ्यांक रहेको छ । त्यसैगरी, ०७०/७१ मा एक लाख ३६ हजार चार सय ५१ रुपैयाँ, आव ०७१/७२ मा १७ हजार नौ सय ५० रुपैयाँ, ०७२/७३ मा २१ हजार सात सय ५५ रुपैयाँ र ०७३/७४ मा १० हजार रुपैयाँ राहत वितरण गरेको छ ।
त्यसैगरी, आव ०७४/७५ मा एक लाख १० हजार, आव ०७५/७६ मा एक लाख ११ हजार ७० रुपैयाँ, आव ०७६/७७ मा एक लाख ४० हजार र गत वर्ष अर्थात् आव ०७७/७८ मा तीन लाख एक हजार आठ सय रुपैया राहत वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पुर्णेश्वर सुवेदीले बताए ।
उनका अनुसार पछिल्लो १० वर्षको अवधिमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट एक सय ४१ पशुधन क्षति हुन पुगको छ भने १५ जना मानवीय क्षति भएको तथ्यांकमा उल्लेख छ । पशुधन क्षतिअन्तर्गत एक सय ३० भेडा–बाख्रा, पाँचवटा गाई–गोरु र सातवटा राँगा–भैँसी वन्यजन्तुको आक्रमणमा परेका छन् ।