पर्सा पटेर्वा सुगौली गाउँपालिका–२, गाँदी (चापी) निवासी ७७ वर्षीय नयनकुमार शर्मा चापागाई उमेरले वृद्ध अवस्थाका भइसकेका छन् । तर, उनको जोस, मिहिनेत र लगनशीलता भर्खरैका युवाहरूको भन्दा कम छैन । करिब २९ वर्षदेखि खेती–किसानी गर्दै आएका शर्मा आफ्नो कृषि कार्यमा बिहान र बेलुका भेटिन्छन् ।
गत जेठदेखि उनले केराको व्यावसायिक खेती गर्दै आएका छन् । १५ कटठ क्षेत्रफलमा केराखेती गरेका उनले यसैलाई अगाडि बढाउने योजना बनाएका छन् । अन्य बालीभन्दा सजिलो खेती भएकाले पनि केरातर्फ आकर्षण बढेको उनको भनाइ छ । उनले भने, ‘एक बिघा क्षेत्रफल लगाए १५ महिनामा चार लाख आम्दानी हुने सुनिएको छ । तर, १५ कटठ क्षेत्रफलमा लगाएको केराखेतीबाट तीन लाख आम्दानी हुनेछ ।’
केराखेती गर्नका लागि कृषि ज्ञानकेन्द्रले अनुदान पनि उपलब्ध गराएको उनले जानकारी दिए । करिब एक लाखको लगानी सुरु भएको केराखेतीमा ज्ञानकेन्द्रले ५० प्रतिशत अनुदान दिएको छ । १५ महिनाअगाडि केराको बोट लगाएका शर्मा असोजसम्ममा केरा बेच्नलाई वीरगन्ज, सिमरा र निजगढ पुग्ने तयारीमा छन् ।
कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख मुन्नीलाल प्रसादले जिल्लामा व्यावसायिक खेती गर्दै आएका किसानलाई अनुदान दिन थालिएको बताए । उनका अनुसार किसानलाई मल, बिउ, मोटर पम्प, कृषि मोटर, बोरिङ, त्रिपाल, स्प्रे टंकी, विभिन्न प्रकारको तालिम उपलब्ध गराउँदै आएको छ ।
कृज्ञि ज्ञानकेन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले ७७ वर्षीय शर्माको खेतीतर्फको लगनशीलता देखेर आश्चर्य लागेको बताए । पहिले धानखेती गर्दै आएका शर्मालाई अहिले केराखेती राम्रो लाग्न थालेको छ ।