सरकारी स्वामित्वको औषधि उद्योगमा तीनवटा उपकरण तथा प्रणाली थपिएको छ । नेपाल औषधि लिमिटेडले हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डलिङ युनिट सञ्चालनमा ल्याएको हो ।बुधबार आयोजित एक कार्यक्रमबीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले तीनवटै उपकरण तथा प्रणालीको उद्घाटन गरेका छन् । औषधि लिमिटेडले सञ्चालनमा ल्याएको हेमोडाइलाइसिस उपकरण, पानी प्रशोधन उपकरण र सूक्ष्म जैविक शाखाको एयर ह्यान्डलिङ युनिटले उद्योगलाई कुशल उत्पादन अभ्यास (जिएमपी) प्राप्ति गर्न सहयोग पु¥याउने बताए । त्यस्तै, यसले उत्पादन वृद्धि तथा विविधीकरण गरी औषधिमा आत्मनिर्भरतातर्फको यात्रामा अघि बढाउनेसमेत बताए ।
‘जिएमपी प्राप्त गर्ने र आत्मनिर्भरताको बाटोमा अघि बढ्ने कार्यका लागि यी तीन उपकरण तथा प्रणाली जडान कोसेढुंगा साबित हुने मेरो विश्वास छ’ उनले भने । यस उद्योगबाट थप औषधि उत्पादन गर्ने विषयमा छलफल गरिरहेकोसमेत उनले जानकारी दिए । अमेरिकी सहयोग नियोग युएसएड–युएसपीको सहयोगमा ती उपकरण जडान गरिएका हुन् । मन्त्री बडूले मृतप्रायः अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिन पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीले खेलेको भूमिकाको स्मरण गर्दै थप उत्पादन वृद्धिमा आफूले ध्यान दिएको बताए । आगामी आर्थिक वर्षको बजेटले पनि उत्पादन अभिवृद्धिका लागि विशेष लक्ष्य, नीति तथा कार्यक्रम तय गरेको उल्लेख गर्दै उनले चिकित्सा क्षेत्रमा थप औषधि र औषधि उपचारमा प्रयोग हुने वस्तु उत्पादनलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । उनले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउने लक्ष्यअनुरूप सरकारले काम गरिरहेको समेत बताए ।
जडान भएका उपकरणले के–के गर्छन् ?
हेमोडाइलाइसिस उपकरणबाट हेमोडाइलाइसिसको उपचार लिनुपर्ने बिरामीहरूका लागि चाहिने डाइलासेट (तरल र पाडर हेमोडाइलाइसिस) नेपालमै उत्पादन गर्ने प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय उत्पादन गर्नेसमेत दाबी गरे । यस उपकरणबाट उत्पादनको तयारी पूरा भएको र अब दैनिक आठ सयदेखि एक हजार ६ सय युनिटसम्म डायलासेट उत्पादन गर्न सकिने उनले जानकारी दिए ।
त्यसैगरी, पानी प्रशोधन उपकरणको स्थापना र सञ्चालनपछि औषधिजन्य प्रयोजनका लागि आवश्यक शुद्ध प्रशोधित पानी उपलब्ध हुनेछ । विगतमा यस्तो प्रणाली नभएकाले औषधि लिमिटेडले जिएमपीको प्रमाणपत्र पाउन नसकी औषधि उत्पादनसमेत प्रभावित भएको थियो । अब यस प्रणालीमार्फत प्रतिघन्टा एक हजार लिटर शुद्ध पानी उपलब्ध हुने र यसले औषधि लिमिटेडबाट उत्पादन हुने हेमोडाइलाइसिस र अन्य औषधिको गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एयर ह्यान्डलिङ युनिटले औषधि उद्योगमा प्रयोग हुने पानी, विभिन्न कच्चा पदार्थ र तयारी औषधिको सूक्ष्म जैविक परीक्षण गर्नेछ । साथै औषधि उत्पादन अभ्यास प्रमाणपत्रका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि लिमिटेडमा यस्तो व्यवस्था थिएन ।
चार प्रकारका औषधि मात्रै उत्पादन
औषधि लिमिटेडका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले कुनै समय एक सय २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड हाल चारवटा उत्पादनमा मात्र सीमित रहेको बताइन् । उनले मन्त्रीको पहलमा औषधि उद्योगको सुधार तथा विकासमा पर्याप्त सहयोग हुने अपेक्षा लिएका बताइन् ।नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले नेपालमा एक सय आठ औषधि उत्पादक उद्योग दर्ता भएको र त्यसमा नेपाल औषधि लिमिटेड गरी एक सय नौवटा भएको बताए । औषधिमा आत्मनिर्भर बन्न सरकारले निजी र सरकारी सबै उद्योगको संरक्षण गर्नुपर्ने उनले बताए । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना महामारीको समयमा औषधि लिमिटेडको सिटामोल उपयोगी भएको अनुभव सुनाए । उनले औषधि लिमिटेडसँग राष्ट्रिय आविष्कार केन्द्रले सहकार्य गर्नेसमेत बताए ।