भोलिको मतदानका लागि बुढीगंगाका मतदानस्थलमा हजारौँ सुरक्षाकर्मी परिचालन

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा पुनः असार २३ गते हुने स्थानीय तह निर्वाचनको मतदानका लागि हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् । दशवटा मतदानस्थल रहेको यस पालिकामा हरेक मतदानस्थलमा करिब सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा निकायले जानकारी दिएका छन् । 

वैशाख ३० गतेको निर्वाचन स्वच्छ र स्वतन्त्र हुन नसकेको भन्दै निर्वाचन आयोगले बुढीगंगाको निर्वाचन स्थगित गरी पुनः निर्वाचन गराउने निर्णय गरेको थियो । 

१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको बुढीगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको यस नगरपालिकाको कुल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ ।

दशवटै मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन् । 

मंगलबारदेखि उनीहरूले संयुक्त रूपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्तीसमेत सुरु गरेका छन् । ‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिँदैनौँ,’ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले भने‚ ‘पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ ।’ 

उनले हरेक बुथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमान्ड रहने व्यवस्था मिलाइएको जानकारी दिए । 

सुझावित समाचार