युरोपियन फुटबलमा को कता जान सक्छन् ?

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

युरोपियन फुटबलको नयाँ सिजनसँगै चर्चित क्लबहरू खेलाडी भित्र्याउने र बिक्रीमा केन्द्रित हुन्छन् । अहिले बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, टर्कीलगायतका चर्चित युरोपियन क्लबहरूले राम्रा खेलाडी भित्र्याउने र रिजर्भमा भएका खेलाडी बिक्रीका लागि सूचीमा राखेका छन् । कतिपय खेलाडी बिक्री पनि भइसकेका छन् ।

बिक्रीमा रहेका चर्चित खेलाडी

ट्रेरेल मालासिया
फेएनोर्डबाट म्यानचेस्टर युनाइटेड (१३ मिलियन पाउन्ड, प्रस्ताव)

म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक हागले नयाँ सिजनमा खेलाडी अनुबन्धलाई नै पहिलो प्राथमिकतामा राखेका छन् । हागले फेएनोर्डका मालासियालाई भित्र्याउने तयारी गरेका छन् । युनाइटेडले २२ वर्षीय मालासियालाई एक करोड ३० लाख पाउन्ड प्रस्ताव राखेको छ । लियोनका भरपर्दा खेलाडी मालासिया पनि युनाइटेडमा आउन इच्छुक छन् । उनले आफ्नो एजेन्टमातर्फ कुराकानी अगाडि बढाइसकेका छन् । ‘यदि मालासियाले प्रस्ताव स्विकारे, हामी अन्तिम चरणमा छौँ,’ मालाका एजेन्ट फ्याकले भने, ‘खेलाडी किनबेचको समयमै सबै प्रक्रिया पूरा हुनेछ ।’ नेदरल्यान्ड्सका मालासियाले राष्ट्रिय टोलीबाट नौ क्याप जितेका छन् । 

फ्रेन्किए डे जोङ
बार्सिलोनाबाट म्यानचेस्टर (७० मिलियन पाउन्ड)

युनाइटेडले स्पेनिस क्लब बार्सिलोनाका डे जोङ पनि वर्ल्ड ट्राफोर्डमा भित्र्याउने योजनाका साथ अगाडि बढेको छ । युनाइटेडले मालासियासँगै डे जोङलाई ५५ मिलियन पाउन्ड प्रस्ताव पठाएको छ । बार्सिलोनाले डे जोङको मार्केट भ्यालुअनुसार ७० मिलियन माग राखेको छ । युनाइटेड र बार्सिलोनाबीच प्रस्तावित रकमबारे थप छलफल हुन बाँकी छ । दुईपक्षीय वार्तापछि अन्तिम सम्झौता हुनेछ । नेदरल्यान्ड्सका डे जोङ पनि यसै सिजन बार्सिलोना छाड्न चाहन्छन् । बार्सिलोनाले कमजोर आर्थिक अवस्था सुधार गर्न राम्रा खेलाडी बिक्रीमा राखेको हो । 

रोबर्ट लेवान्डोस्की
बायर्न म्युनिखबाट बार्सिलोना (३५ मिलियन पाउन्ड)
यो सिजनको ठूला नाम चलेका खेलाडी लेवान्डोस्कीले बायर्न म्युनिख छाड्दै छन् । लेवान्डोस्कीले आफूलाई खुला एजेन्टमार्फत मार्केटमा राखेका छन् । गत सिजनमै लेवान्डोस्कीले बायर्नमा नबस्ने घोषणा गरेका थिए । ‘बायर्नमा मेरो युग समाप्त भइसकेको छ, अब कुनै पनि हालतमा यहाँ बस्दिनँ,’ लेवान्डोस्कीले भनेका थिए, ‘बायर्न आफ्नो निर्णयमा प्रतिबद्धता छ, मलाई पनि यहाँ खेल्न मन छैन ।’ लेवान्डोस्कीले बायर्न छाड्ने पक्कापक्की भएपछि बार्सिलोनाले राम्रा स्ट्राइकरका रूपमा उनलाई भित्र्याउने मनसाय बनाएको छ ।

लेवान्डोस्कीले बायर्नपछि बार्सिलोना नै दोस्रो क्लब भएको बताएका छन् । आर्थिक अभावकै कारण बार्सिलोनाले लेवान्डोस्कीलाई ३५ मिलियन पाउन्ड प्रस्ताव राखेको छ । कोभिड–१९ का कारण बार्सिलोनाको आर्थिक अवस्था निकै कमजोर बनेको छ । बार्सिलोनाले खेलाडी बेचेको रकमबाट नै लेवान्डोस्कीलाई अनुबन्ध गर्नेछ । बार्सिलोनाले लेवान्डोस्कीलाई अन्य खेलाडीका तुलनामा वार्षिक पारिश्रमिक दिने जनाएको छ । 

केल्भिन फिलिप्स
लिड्सबाट म्यानचेस्टर सिटी (४५ मिलियन पाउन्ड)
इंग्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले यस सिजनमा केही राम्रा खेलाडी गुमाउने लगभग निश्चित छ । ती खेलाडीको स्थानमा सिटीले अरू खेलाडी प्रतिस्थापन नगर्ने कुरै भएन । सिटीले मिडफिल्डरका रूपमा लिड्सका स्टार खेलाडी केल्भिनमाथि आँखा लगाएको छ । केल्भिनसँग अनुबन्ध गर्न सिटीले ४५ मिलियन पाउन्डको प्रस्ताव राखेको छ । अर्को सातासम्म सिटीले केल्भिनलाई भित्र्याउने विश्वास लिएको छ । २६ वर्षीय केल्भिनलाई सिटीले वार्षिक रूपमा ३० लाख पाउन्ड थप्ने जनाएको छ । तर, लिड्सले केल्भिनको मूल्य कम्तीमा १० मिलियन पाउन्ड हुनुपर्ने जनाएको छ । इंग्लिस राष्ट्रिय टोलीका खेलाडी केल्भिनले फर्नान्डिन्होको स्थान लिने सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् ।  

हिम स्टेर्लिङ
म्यानचेस्टर सिटीबाट चेल्सी (५५ मिलियन पाउन्ड)
रामेलु लुकाकुको बिहिर्गमनपछि चेल्सीले म्यानचेस्टर सिटीका स्ट्राइकर स्टेर्लिङ भित्र्याउने कोसिसमा छ । यो नयाँ सिजनमा थोमस टुचाल आक्रामक रूपमा प्रिमियस लिगमा प्रस्तुत हुने योजनाका साथ अगाडि बढेका छन् । उनले सिटी वा लिभरपुलका राम्रा खेलाडीलाई प्राथमिकतामा राखेका छन् । यसमा उनले स्टेर्लिङलाई छनोटमा राखे । बेलायती एजेन्सीहरूका अनुसार चेल्सीले स्टेर्लिङ अनुबन्ध गर्न ५५ मिलियन पाउन्ड प्रस्ताव पठाएको छ । २७ वर्षीय स्टेर्लिङले चेल्सीका प्रशिक्षक थोमाससँग कुराकानी गरेका छन् । 

राफिन्हा 
लिड्स युनाइटेडबाट चेल्सी, (६० मिलियन पाउन्ड)
चेल्सीले स्टेर्लिङसँगै एकैपटक लिड्स युनाइेटडका राफिन्हा भित्र्याउने अग्रसर छ । यसैबीच आर्सनल पनि राफिन्हाप्रति इच्छुक देखिएको छ । राफिन्हा चेल्सीमा जान सक्ने सम्भावना छ । आर्सनलले पनि उनलाई अनुबन्ध गर्न ५५ मिलियन पाउन्ड पठाएको थियो । चेल्सीले आर्सनलभन्दा अलि बढी रकमका रूपमा ६० मिलियन प्रस्ताव पठाएको बेलायती एजेन्सीहरूले जनाएका छन् । 

अनुबन्धित खेलाडी 

रिचार्लिसन 
एभेर्टनबाट टोटनह्याम, (६० मिलियन पाउन्ड) 
पछिल्लो समय शीर्ष चारमा इंग्लिस प्रिमियर लिगमा बलियो दाबेदारी दिइरहेको टोटनह्यामले एभर्टनका स्ट्राइकर रिचार्लिसनसँग पाँच वर्षको सम्झौता गरेको छ । एभर्टनले पनि रिचार्लिसनमाथि राम्रो दाम पाउँदा नै बिक्री गरेको जनाएको छ । गत सिजनमा उनले एभर्टनबाट १० गोल गरेका थिए । एभर्टनले आर्थिक अवस्था सुधार गर्न नै राम्रा खेलाडी बिक्रीमा राखेको हो । एभर्टनबाट एक सय ५२ खेलमा ५३ गोल गरेका छन् । सन् २०१८ मा वाट्फोर्डबाट ४० मिलियन पाउन्डमा उनी एभर्टनमा पुगेका थिए । 

अल्भारो मोरोटा
युभेन्ट्सबाट एट्लेटिको म्याड्रिड, (१० मिलियन पाउन्ड)
स्पेनिस खेलाडी अल्भारो मोरोटा युभेन्ट्सबाट एटलेटिको म्याड्रिडसँग अनुबन्ध भएका छन् । युभेन्ट्समा दुई सिजन बिताएपछि मोरोटा आफ्नै पुरोना क्लबमा फर्किएका हुन् । म्याड्रिडले मोरोटालाई भित्र्याउन १० मिलियन पाउन्ड खर्चेको छ । २९ वर्षीय मोरोटाले युभेन्ट्समा दुई सिजन बिताउँदा ३२ गोल गरेका थिए । सन् २०१४ मा उनी रियल म्याड्रिडबाट युभेन्ट्ससँग अनुबन्धित भएका थिए । 

ग्राबिएल जेसुस 
म्यानचेस्टर सिटीबाट आर्सनल, (४५ मिलियन पाउन्ड)
एर्लिन हालान्डसँग अनुबन्धपछि ब्राजिलियन खेलाडी जेसुस म्यानचेस्टर सिटी छाडेका  छन् । यसअघि गाब्रिएलले सिटीमै रहन सक्ने जनाएका थिए । तर, सिटी उनीप्रति त्यति सकारात्मक देखिएन । बेलायती एजेन्सीहरूले ग्राबिएल आर्सनलमा अनुबन्ध भएका छन् ।  आर्सनलले यसपटक फिनिसिङ लाइनअप बलियो बनाउन गाब्रिएललाई पहिलो प्राथमिकतामा राख्दै सिटीमा ४५ मिलियन पाउन्ड खर्चिएको छ । आर्सनललाई एक राम्रो स्ट्राइकर आवश्यकता छ । स्ट्राइकर अभाव खड्किएको आर्सनलले गाब्रिएल भित्र्याउँदै केही राहत पाउने विश्वास गरेको छ । आर्सनलमा युवा ब्राजिलियन माक्र्विन्होस, पोर्चुगलका मिडफिल्डर फाबिओ भिएरा तथा गोलरक्षक माट टर्नर छन् ।  

रामेलु लुकाकु
चेल्सीबाट इन्टर मिलान, (६.९ मिलियन पाउन्ड)
खेलाडी करिअरमा बेल्जियमका स्ट्राइकर लुकाकुले धेरै उतारचढावको सामना गरेका छन् । खेलाडी किन–बेचको सिजनमा लुकाकुको नाम अक्सर आउने गर्छ । यसपटक पनि उनको नाम समावेश भयो । इन्टर मिलानले लुकाकुलाई चेल्सीबाट भित्र्याएको छ । मिलानले लुकाकुमाथि ६.९ मिलियन पाउन्ड खर्चेको छ । इन्टरले लुकाकुलाई लोनमा अनुबन्ध गरेको हो । गत सिजनमा लुकाकुलाई चेल्सीमा ९८ पाउन्ड खर्चेको थियो । चेल्सीमा राम्रो प्रदर्शन गर्न नसक्दा उनी इन्टर मिलानतिर हान्निन लागेका हुन् ।

सुझावित समाचार