पूर्व–पश्चिम लोकमार्गस्थित सर्लाहीको हरिवनमा पहिचान नभएको सवारीको ठक्करबाट एक पुरुषको ज्यान गएको छ । बिहीबार मध्यराति हरिवन नगरपालिका– ११, स्थित कडरिया चौकमा नम्बर नखुेको सवारीको ठक्करबाट एक युवकको ज्यान गएको हो ।
दुर्घटनामा परेर स्थानीय २४ वर्षका जयबहादुर विकको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको हो । मृतक विकलाई मध्यराति नम्बर नखुलेको सवारीले ठक्कर दिएको हुन सक्ने प्रहरीको आशंका छ ।
दुर्घटनामा परेर अचेत अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उद्दार गरी अस्पताल पुर्याएको थियो । उनलाई नमुना अस्पताल हरिवन पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक युवकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, हरिवन प्रहरीले दुर्घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।