विनाहाजिरी तीन महिनादेखि रारा निकुञ्जका कर्मचारीलाई तलब

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

रारा राष्ट्रिय निकुञ्जको कार्यालयमातहतका ६ वटा पोस्टमा कार्यरत ५५ जना कर्मचारीले वैशाखदेखि हाजिर नगरी तलब भत्ता खाएका छन् ।  वैशाख १ गतेदेखि हरेक कार्यालयमा कर्मचारीका लागि नयाँ हाजिरीको प्रयोग हुने व्यवस्था भए पनि रारा राष्ट्रिय निकुञ्ज कार्यालय र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागि स्थापना गरिएका पोस्टका कर्मचारीले विनाहाजिर तलब खाने गरेको पाइएको हो ।

निकुञ्ज कार्यालयले गत चैत महिना सकिएलगत्तै कार्यालयको स्टोर तथा जिन्सी शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरी र मातहतका सबै पोस्टमा पठाइसक्नुपर्ने भए पनि उक्त फाइल तीन महिना बित्न लाग्दासमेत हाजिरी फाइलको व्यवस्था गर्न नसक्दा कार्यरत कर्मचारीको खातामा हाजिरी नगरी तलब–भत्ता खाने गरेको एक स्राेतले जनाएको छ ।सार्वजनिक बिदा, घरबिदा र काजमा खटिएको जानकारीसहित अन्य दिन  कार्यालयमा कामकाज गरेको जानकारी हाजिर पुस्तिकामा उल्लेखित अनिवार्य हुनुपर्ने भए पनि यस कार्यालयमातहतमा  कार्यरत ५५ जना कर्मचारीले वैशाख र जेठ महिनाको हाजिर नगरी तलब–भत्ता बुझेको पाइएको छ ।  

मासिक हाजिरी प्रतिलिपि उतार गरी सम्बन्धित कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरी लेखा शाखाले  कार्यरत कर्मचारीको हाजिरीअनुसार सम्बन्धित कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधाको रकम हाजिरीअनुसार पठाउने सरकारी प्रावधन भए पनि रारा राष्ट्रिय निकुञ्जले हाजिरीविना नै वैशाख र जेठको तलब कर्मचारीहरूले पाएको स्राेतको दाबी छ ।

निकुञ्ज कार्यालय र मातहतका ६ वटा पोस्टमा ५५ जना दरबन्दीअनुसारका कर्मचारी कार्यरत छन् । निकुञ्ज कार्यालय हुटुबाहेक अन्य  ६ वटा पोस्टका कर्मचारीले वैशाखयता हाजिरी गर्न पाएका छैनन् ।

चैत महिना सकिनेबित्तिकै पहिल्यै हाजिरी तयारी गर्ने गरेको भए पनि ६ वटा पोस्टमा कार्यरत कर्मचारीका लागि पुरानै  रजिस्टरमा हाजिरी गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बद्रीविनोद दाहाल बताउँछन् । उनका अनुसार नयाँ हाजिरी रजिस्टर एक साताअगाडि पठाएको बताए पनि रजिस्टर  मंगलबार मात्रै पोस्टहरूमा पुगेको छ । कार्यालय प्रमुख दाहालले हाजिरीबारे ढाकछोप गर्न खोजेको कुरा प्रस्टै देखिएको छ ।

भौतिक रूपमा बिदामा रहेकाबाहेक सबै कर्मचारी खटिएका स्थानमा छन् । तर, कागजी रूपमा भने उपस्थिति नभएजस्तै मानिन्छ । पटक–पटक माग गर्दासमेत कार्यालयले समयमै हाजिरी रजिस्टर नपठाउँदा वैशाख र जेठको हाजिरीविनै तलब पाएको पोस्टमा कार्यरत कर्मचारीले बताएका छन् ।
 

सुझावित समाचार