वर्षायाममा सरसफाइप्रति अझै बढी ध्यान दिनुपर्छ

वर्षाजन्य रोग झाडापखालाबाट शरीरमा पानीको स्तर घट्नेहुँदा छाला सुक्खा हुने, लुतोको संक्रमण फैलिने, छाला चाउरिनेजस्ता समस्याले जटिलता निम्त्याउँछ

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरि नै बाढी र डुबानको समस्या बढ्दै गएको छ । यस वर्ष तुलनात्मक रूपमा बढी वर्षा हुने अनुमान गरिएको छ । वर्षापछिको विपत् र डुबानका कारण संक्रमणजन्य रोगको जोखिमसमेत उच्च रहन्छ । डुबानमा पर्ने बस्तीहरूमा पानीजन्य संक्रमणबाट बच्न सतर्क रहनुपर्छ ।

फोहोर पानी र खाद्यवस्तुको प्रयोगबाट झाडापखाला र हैजाजस्ता संक्रमण फैलिरहेका छन् । विशेषगरी डुबान र बाढी प्रभावित क्षेत्रमा यस्ता रोगले बढी प्रभाव पारिरहेको छ । बाढीसँगै मिसिएर आउने ढलका कारण पानी दूषित हुने र अन्य खाद्यवस्तुमार्फत सजिलै खानामा पुग्ने भएकाले झाडापखालाजन्य रोगको जोखिम बढेको हो । विशेषगरी अत्यधिक फोहोर थुप्रिएको स्थानमा यस्ता संक्रमणको असर बढी रहन्छ ।

 झाडापखाला र हैजा 
मनसुन सुरु भएसँगै झाडापखाला र हैजाका बिरामी अस्पतालसम्म पुग्ने दर बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । झाडापखालाबाट प्रभावित भएर अस्पतालसम्म पुग्ने बिरामीसमेत अधिकांश अत्यधिक भिडभाड रहने स्थानमा देखिएका छन् । 

खासगरी बाढी र डुबानबाट प्रभावित हुने तराई, उपत्यका र खोलानजिकका बस्तीमा पानीजन्य संक्रमणको जोखिम बढी देखिन्छ । बाढीको समयमा सफा पिउने पानीको अभाव रहने भएकाले खानेपानीबाट ब्याक्टेरियल इन्फेक्सनहरू फैलिन्छन् । 

छालामा समस्या
फोहोरबाट निस्किएको ब्याक्टेरियाबाट छालामा ब्याक्टेरियल इन्फेक्सनको जोखिम हुन्छ । यसबाहेक फंगल, डेंगु र कोलेरियाको समेत उच्च जोखिम रहन्छ । जसले छालामा विभिन्न खाले समस्या ल्याउँछ र छालालाई कमजोर बनाउँदै लान्छ ।

यस्तै, वर्षाजन्य रोग झाडापखालाबाट शरीरमा पानीको स्तर घट्नेहुँदा छाला सुक्खा हुने, लुतोको संक्रमण फैलिने, छाला चाउरिने जस्ता समस्याले जटिलता निम्त्याउँछ । फोहोरको सम्पर्कमा रहने व्यक्तिमा एग्जिमा हुने सम्भावना रहन्छ । जसले छाला पाक्ने, ठूलो फोकाहरू उठ्ने, रगत र पिप जम्नुका साथै क्यान्सरको जोखिम बढाउँछ ।

 लामखुट्टेको टोकाइबाट हुने जोखिम 
वर्षाको पानी जम्ने स्थानमा लामखुट्टे मौलाउने भएकाले जोखिम बढ्ने गर्छ । जसका कारण यो समयमा मलेरिया, कालाजार, डेंगु, इन्फ्लुएन्जा र स्क्रब टाइफसजस्ता समस्या देखिन्छन् । पछिल्ला केही वर्षयता यस्ता रोगहरूले गम्भीर जोखिम निम्त्याइरहेका कारण लामखुट्टे तथा अन्य भुसुनाको टोकाइबाट बच्नुपर्ने हुन्छ । वर्षामा दूषित पानी, अस्वस्थ खाद्यपदार्थ र व्यक्तिगत सरसफाइको कमीबाट स्वास्थ्य समस्या निम्तिन्छन् । बाढी प्रभावित स्थानमा यसको जोखिम बढी रहने भएकाले सरसफाइमा अझै बढी ध्यान दिनुपर्छ । 

See More On

सुझावित समाचार