आर्थिक ममिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले असार १ गते सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत गरेको ३६ अर्ब ७४ करोडबराबरको अगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथिको छलफल अझै अघि बढ्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा सत्ता र प्रतिपक्षी प्रदेश सभा सदस्यले असन्तुष्टि व्यक्त गरेपछि प्रदेश सभाको बैठक अनिश्चित बन्न पुगेको हो । सत्तारूढ गठबन्धनमा रहेका दल, प्रमुख प्रतिपक्षी दल एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले संशोधनको माग गरेपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन ।
प्रदेश सरकारले बिचौलियाको प्रभावमा परेर वित्तीय अनुशासनलाई उल्लंघन गरी बजेट ल्याएको भन्दै अधिकांश प्रदेश सभा सदस्यले बजेट संशोधनको माग गरेका थिए । सभामुख अर्जुनबहादुर थापाले सरकारको आग्रहमा ८ असारमा प्रदेश सभाको बैठक बोलाए पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधि बजेटविरुद्ध एकजुट भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।
बजेटमाथि असन्तुष्टि जनाउँदै आएका सत्तापक्षकै सदस्यहरू मुख्यमन्त्री र अर्थमन्त्रीमाथि दबाब सिर्जना गर्न गठबन्धनका शीर्ष नेतालाई भेट्न काठमाडौं पुगेपछि बैठक झनै अनिश्चित भएको छ । बहुमत सदस्य प्रदेशबाहिर भएकाले बैठक बस्ने सम्भावना न्यून रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । माओवादी केन्द्रका सदस्यसमेत बजेट सन्तुलित नभएको भन्दै गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेका नेताहरूले बताएका छन् । रासस