पर्यटक स्तरका होटेलको दर्ता प्रक्रिया सहज बनाउन कोशीका व्यवसायीको माग

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

पर्यटक स्तरका होटेलहरू आफ्नै प्रदेशमा दर्ता गराउने व्यवस्था सहज बनाउन कोशीका होटेल व्यवसायीहरूले प्रदेश सरकारसँग आग्रह गरेका छन्।

होटेल संघ कोशीको नयाँ कार्यसमितिका पदाधिकारीहरूको पदस्थापना कार्यक्रमको अवसरमा बुधबार विराटनगरमा आयोजित अन्तर्क्रियामा बोल्दै व्यवसायीहरूले झन्झटिलो प्रक्रिया र महँगो शुल्कले गर्दा पर्यटक स्तरका होटेलहरू अझै प्रदेशमा दर्ता हुन नसकेको गुनासो गरे।

व्यवसायीहरूले पर्यटन कानुन निर्माण गरेर तीनतारेसम्मका होटेलहरू प्रदेशबाटै अनुमति लिएर सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ। तर, झन्झटिलो प्रक्रिया र महँगो शुल्कले गर्दा होटेलहरू अझै प्रदेशमा दर्ता हुन नसकेका उनीहरूको भनाइ छ।

संघका कोशी अध्यक्ष राजन श्रेष्ठले प्रदेश सरकारले कानुन निर्माण गरे पनि नयाँ र पुराना सबै होटेललाई एउटै डालोमा राखेर दर्ता गराउने प्रक्रिया ल्याएकाले सञ्चालन भैरहेका होटेलहरूले प्रक्रिया पुर्याउन सम्भव नभएको बताए। उनका अनुसार कोशी प्रदेशको पर्यटन मन्त्रालयमा पर्यटक स्तरका होटेल दर्ता गराउन झन्झटिलो वातावरणीय प्रभाव मूल्यांकनको समस्या व्यवसायीहरूले झेल्नुपर्छ। सो मूल्यांकनका लागि पनि मन्त्रालयले जनशक्त्ति अभावलगायतका कारण देखाउँदै वर्षौँ झुलाउने गरेको उनको भनाइ छ।

होटेल संघ कोशीका सचिव पुण्य भट्टराईले पर्यटकस्तरका होटेल दर्ता गराउन एक लाख रुपैयाँभन्दा बढी शुल्क लिन नहुने र सञ्चालन भैरहेका होटेलहरूलाई वातावरण प्रभाव मूल्यांकनको झन्झट दिन नहुने बताए। उनका अनुसार प्रदेश कानुनअनुसार पर्यटक स्तरका होटेलहरूले आफ्नो प्रदेशमा दर्ता हुन पाँच लाख रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता छ। भट्टराईले दर्ता प्रक्रिया सहज र सस्तो बनाए कोशी प्रदेशमा सञ्चालन भैरहेका हजारौँ होटेल दर्ता प्रक्रियामा आउने बताए।

कोशी प्रदेशका पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले प्रदेशका होटेलहरूले मात्र नभई समग्र पर्यटन व्यवसायीहरूले झेल्दै आएको समस्या पुरानै भएकाले आफूले ऐन संशोधनका लागि छलफल अघि बढाएको बताइन्। उनले कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी भ्रमण वर्षलाई सफल बनाउन आफू मन्त्री नियुक्त भएर आएदेखि नै लागिरहेको बताइन्।

होटेल संघ कोशीका पदाधिकारीको पदभार ग्रहण
होटेल संघ कोशी प्रदेशका पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। बुधबार विराटनगरमा आयोजित औपचारिक कार्यक्रममा अध्यक्ष राजन श्रेष्ठसहित सबै पदाधिकारीहरूले कोशी प्रदेशकी पर्यटनमन्त्री लिम्बू र होटेल संघ नेपालका केन्द्रिय अध्यक्ष विनय शाहको रोहवरमा पदभार ग्रहण गरेका हुन्।

होटेल संघ कोशीमा विराटनगरका होटेल व्यवसायी राजन श्रेष्ठको अध्यक्षतामा चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विराटनगरका भवेश श्रेष्ठ, उपाध्यक्षमा धनकुटाकी शान्ति श्रेष्ठ, महासचिवमा इटहरीका जीवन पराजुली, सचिवमा विराटनगरका पुण्य भट्टराई र कोषाध्यक्षमा झापाका खेम ओली छन्। सदस्यहरूमा धरानका रमेश श्रेष्ठ, संखुवासभाका राजीव श्रेष्ठ, इलामका जिय राई, सोलुकी अन्जली राई, ताप्लेजुङका सुरेश लिम्बू र मोरङका आकाश दुलाल छन्।

सुझावित समाचार