दैलेखको ऐतिहासिक कोतगढीमा ५१ वर्षपछि सुन्दरी तोप (फोटोफिचर)

दैलेखको इतिहास बोकेको तोप ५१ वर्षपछि आफ्नै स्थानमा ल्याएर राखिएको छ

शनिबार, ११ असार, २०७९
डिजिटल संस्करण

२०२८ सालको भोकमरीका वेला, दैलेखमा रहेको ज्वालादल गुल्म सुर्खेतमा सरेसँगै दैलेखबाट सुर्खेत पुर्‍याइएको सुन्दरी नामको तोप ५१ वर्षपछि पुनः दैलेखको ऐतिहासिक कोतगढीमा पुनर्स्थापना गरिएको छ । तोपसँगै ८१ थान गोला पनि कोतगढीमै राखिएको छ । दैलेखमा उक्त तोप हुँदा हरेक वर्षको बडादसैँका वेलामा तोप पड्काएर बढाइ गरेपछि मात्र जिल्लाभर टीका लगाउने प्रचलन थियो ।

नेपाली सेनासँगको सहकार्यमा नारायण नगरपालिका दैलेख, जिल्ला प्रशासन र नागरिक समाजको पहलपछि नेपाली सेनाले उक्त तोप गत पुस २१ गते दैलेख ल्याई नेपाली सेनाको व्यारेकमा राखिएको  थियो । दैलेख व्यारेकमा राखिएको उक्त तोप विधिवत रुपमा बिहीबार कोतगढीमा पुरानै शैलीमा पुनः राखिएको छ । तत्कालिन समयमा युद्धका लागि प्रयोग गरिएको उक्त तोप दैलेखको समग्र इतिहाससँग सम्बन्धित छ । 

नेपाली सेनाको मातहतमा रहेको गढीसँगै ऐतिहासिक तोप नेपाली सेनाको पश्चिम कमान्डले नारायण नगरपालिकालाई विधिवत् रूपमा हस्तान्तरण गरेपछि दैलेखको पर्यटन विकासमा थप टेपा पुग्ने देखिएको छ । ऐतिहासिक सुन्दरी तोप दुई सय ३२ वर्ष पुरानो मानिन्छ यसको आधिकारीक तत्थ्यांक भने अहिलेसम्म फेला परेको छैन । 

नेपाली सेनाको मातहतमा रहेका एेतिहासिक कोतगढीसँगै सुन्दरी तोपको रेखदेख जिम्मेवारी र पर्यटन प्रवर्द्धनका लागि आवश्यक पर्ने अन्य पूर्वाधार निर्माणको जिम्मेवारी अब नारायण नगरपालिकाको रहेको छ । तोप हस्तान्तरण गर्दै नेपाली सेनाको पश्चिम कमान्डका कमाण्डप्रति प्रेम शाहीले ऐतिहासिक सम्पदा संरक्षण र प्रवर्द्धनका लागि नेपाली सेना सधैँ तत्पर रहने र दैलेखको एेतिहासिक महत्त्वका बारेमा अझै खोज अनुसन्धान जरुरी रहेको बताएका छन् । 

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले जिल्लाकै एेतिहासिक महत्त्वको तोप र गढीलाई थप प्रवर्द्धन र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने बताएका छन् । ऐतिहासिक कोतगढी पुर्निर्माणका लागि नरपालिका, प्रदेश र केन्द्र सरकारबाट पाँच वर्षको अवधिमा करिब एक करोड रकम खर्च भइसकेको छ ।

सुझावित समाचार