धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । उपमहानगरको शुक्रबार भएको आठौँ नगर सभामा उपप्रमुख कन्दकलाकुमारी रानाले चालूतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहने गरी एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको बजेट प्रस्तुत गरेकी छिन् ।
उपमहानगरपालिकाले सामाजिक विकासतर्फ सबैभन्दा बढी ७४ करोड ७८ लाख ३३ हजार (४०.६४ प्रतिशत) बजेट विनियोजन गरेको छ । त्यस्तै, पूर्वाधार विकासतर्फ २४.५३ प्रतिशत बजेट विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ कुल बजेटको ७.८४ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ४.२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ २२.७६ प्रतिशत बजेट विनियोजन गरिएको उपप्रमुख रानाले बताइन् ।
बजेटको स्रोतको रूपमा आन्तरिक आयतर्फ २६ करोड ७९ लाख २४ हजार, मौज्दात रहेको १० करोड र बाँकी राजस्व बाँडफाँड, अन्तरसरकारी वित्तीय हस्तान्तरणलगायत शीर्षकमा संघ र प्रदेशबाट प्राप्त हुने उपमहानगरको अनुमान छ । योजना तथा कार्यक्रमगत विस्तृत विवरण भने नगर सभाबाट पारित भइसकेपछि सार्वजनिक गरिने उपप्रमुख रानाले बताइन् ।
विकास खर्चलाई चालू खर्चमा परिवर्तन गर्न नपाउने व्यवस्था पनि उपमहानगरले गरेको छ । ‘करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक भार घटाउने तथा खरिद प्रक्रिया पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक स्रोतले चालू खर्च धान्ने गरी आत्मनिर्भरउन्मुख बजेट कार्यान्वयन गर्ने व्यवस्था मिलाएकी छु,’ रानाले भनिन् । उमहानगरले चालू आर्थिक वर्षको भन्दा एक करोड छ लाख ३१ हजार रुपैयाँ बढी बजेट ल्याएको हो ।