राष्ट्रिय हितका प्रश्नमा सौदाबाजी गर्नुहुन्‍न : ओली

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण
राष्ट्रिय हितका प्रश्नमा सौदाबाजी गर्नुहुन्‍न : ओली

फाइल फोटो

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले कुनै देशले आफ्नो भूगाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रस्ट्याएका हुन् । 

मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खटपट नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्नेजस्तो आफूलाई लाग्ने गरेको पनि बताए । 

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दा मात्रै देशहरूको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटकपटक राखेको पनि स्मरण गराए ।

उनले भने, ‘हाम्रो छिमेक सम्बन्ध सुमधुर र सुदृढ राख्नुपर्छ । पारस्पारिक सम्मान, पारस्पारिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनुपर्दछ । अब छिमेक सम्बन्ध गर्दा समस्या छँदैछन् भने हेपिएको महसुस भइराखेको छ भने वास्तवमा सम्बन्ध सुमधुर हुँदैन, आत्मीय हुँदैन । मित्रतापूर्ण सम्बन्ध हुँदैन । मैले हाम्रा छिमेकीसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरू राखेँ । यदि हाम्रा अलिकति पनि अमिलोपन, चिसोपन रह्यो, भन्न नसक्ने, बोल्न नसक्ने अवस्था रह्यो भने मित्रता कसरी रहन्छ ? हामी एक–आपसमा बोल्न नसक्ने, भन्न नसक्ने अवस्थामा छौँ, तर मित्रताका कुरा गर्छौँ भने एउटाले दपेट्छ, अर्को दपेटिन्छ भने, भन्न सक्दैन भने त्यहाँ वास्तविक मित्रता कसरी हुन्छ ? त्यसकारण हामीले हाम्रो बीचमा समस्या छन् भने ती समस्या समाधान गर्नुपर्छ । अनि त्यसपछि मात्रै वास्तविक मित्रता हुन्छ । र, २१औँ शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्ना सत्तास्वार्थहरूलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरूको प्रश्नमा सौदाबाजी गर्नुहुन्न ।’

सुझावित समाचार