बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण

नेपाल मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

मलेसियाको किनरारा ओभलमा वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले तीन ओभर चार बलमा दुई विकेट गुमाएर पूरा गर्दा नेपालको अन्तिम चारको यात्रा तय भएको हो। १५ रनको सामान्य लक्ष्यपश्चात् जवाफी ब्याटिङ गरेको नेपालका लागि सीता रानामगरले चार रन बनाउँदा कविता जोशीले तीन रन बनाइन्। बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो। बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिँदा अस्मिना कर्माचार्यले एक विकेट लिइन्।

जितसँगै नेपाल तीन खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। अब अन्तिम खेलमा नेपालले हङकङसँग मंगलबार खेल्नेछ।

सुझावित समाचार