कोरोना संक्रमणका कारण लामो समयदेखि थलिएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेश गन्तव्यको पहिचान एवं प्रवद्र्धनमा जुटेको छ । गण्डकी प्रदेशभित्रका नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन थालिएको हो ।
पोखराबाट पर्यटकीय गन्तव्यको खोजीमा निस्किएको नाटा गण्डकी प्रदेशको टोलीले बाग्लुङका पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्र्धन गरेको छ । शुक्रबार र शनिबार टोलीले बाग्लुङ सदरमुकामआसपासका र बलेवा क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नुका साथै यस क्षेत्रलाई पर्यटकको हबका रूपमा कसरी विकास गर्न सकिन्छ भन्नेबारे सरोकारवालासँग छलफल गरेको छ । गण्डकी प्रदेश पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रवद्र्धन गरेको कार्यक्रमलाई बाग्लुङ नगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्लगायतले सहयोग गरेका थिए ।
पर्यटन व्यवसायीले बाग्लुङको नारायणस्थानमा रहेको बलेवा विमानस्थल, पैँयुपाटाका विभिन्न पर्यटकीय स्थल, भैरवस्थान मन्दिर, मुलाबारी, पाग्जाकोट, भकुन्डेको होमस्टे, भ्युटावर, दह, पञ्चकोट, बाग्लुङ कालिका मन्दिरलगायत स्थानमा पुगेर यस क्षेत्रको प्रवद्र्धन गरेका थिए । टोलीमा सहभागी गण्डकी प्रदेश पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बाग्लुङमा रहेका पर्यटकीय गन्तव्य प्रचार–प्रसारको कमीले ओझेलमा परेको बताए । यिनै ओझेलमा परेका नयाँ गन्तव्यमा पर्यटक भित्र्याउनका निम्ति नाटा गण्डकी प्रदेशले ल्याएको कार्यक्रमले समग्र गण्डकी क्षेत्रकै पर्यटन विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । ‘अब पोखरा आउने पर्यटक बाग्लुङ, पर्वत, म्याग्दी आउनुपर्छ,’ पौडेलले भने, ‘आन्तरिक पर्यटकलाई देखाउने पर्यटकीय स्थलको सूचीमा नयाँ गन्तव्य हुनुपर्छ । पुरानै गन्तव्यले मात्रै अब पर्यटनको क्षेत्र उकास्न सकिँदैन ।’ नयाँ गन्तव्य पहिचानका लागि मन्त्रालय पनि लागिपरेको उनको भनाइ थियो ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि बाग्लुङ निकै सम्भावना रहेको क्षेत्र भएका कारण आउँदा दिनमा पोखरा आउने पर्यटक बाग्लुङ ल्याउन सजिलै सकिने नाटा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । पोखरा र मुस्ताङपछिको पर्यटकको रोजाइको गन्तव्यका रूपमा बाग्लुङ विकास हुने उनको भनाइ थियो । उनले भने, ‘बाग्लुङमा थुप्रै पर्यटकीय गन्तव्य रहेछन् ।
यहाँको बाग्लुङ कालिका पञ्चकोट, भैरवस्थान, ढोरपाटनको पर्यटन विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक आउने थिए ।’ आकर्षक गन्तव्यहरूको अझै प्रचार हुन नसकेको आफूले पाएको उनले बताए । मुुस्ताङ जाने पर्यटकलाई एक बाग्लुङमा वास बस्ने वातावरण बनाउन सक्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष अधिकारीले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाउने नयाँ गन्तव्यको पहिचान गरी त्यसको विकासमा लाग्नुपर्छ, अहिले आन्तरिक पर्यटकमा उत्साह थपिएको छ । हामीले पर्यटकीय गन्तव्यको पहिचान गर्छौँ र यसको प्रवद्र्धन गर्ने जिम्मेवारी स्थानीयमा नै हुन्छ ।’
पछिल्ला केही वर्ष बाह्यभन्दा आन्तरिक पर्यटककै चाप बढ्दै गएका कारण यहाँको पर्यटकीय क्षेत्रको विकासका निम्ति स्थानीय तहले समेत पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने बाग्लुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । पर्यटनको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाको सहकार्यमा बाग्लुङको पर्यटन विकासका लागि नयाँ आयाम ल्याउने उनको भनाइ थियो । भ्रमण टोली पुगेको क्षेत्र बलेवा विमानस्थल, भैरवस्थान, भकुन्डे पञ्चकोट पर्र्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको र पोखराका पर्यटन व्यवसायीको रोजाइमा परेको नाटा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले बताइन् । अब पोखरा आउने पर्यटकलाई बाग्लुङमा पनि नयाँ गन्तव्य छन् है भनेर पठाउने पोखराका पर्यटन व्यवसायीको अठोट रहेको उनको भनाइ थियो ।