बाग्लुङ उद्योग वाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन् । संघको १८औँ महाधिवेशनबाट कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघका निवर्तमान महासचिवसमेत रहेका कँडेल र पूर्वकेन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ ‘वासु’ अध्यक्षका लागि प्रतिस्पर्धामा थिए ।
अध्यक्ष र दुईजना उद्योग सदस्यबाहेक खुला १४ सदस्य र दुई महिला सदस्यमा पनि यसअगाडि नै सहमति जुटिसकेको थियो । अध्यक्षका दुवै आकांक्षी नेपाली कांग्रेसनिकट भएका कारण अन्तिम समयमा सर्वसम्मत नेतृत्वको चयनका लागि पार्टीले भूमिका खेलेको हो । उम्मेदवारहरूको सहमतिमा बनेको कार्यदलले नरेश कँडेललाई अध्यक्षमा सर्वसम्मत बनाएको थियो ।
उद्योग वाणिज्य संघको १८औँ महाधिवेशनबाट अध्यक्षमा नरेश कँडेल, महिला सदस्यमा यमुना रेग्मी, शिवकला थापा, उद्योग सदस्यमा ऋषिराम गौतम, निलेश राजभण्डारी, खुला सदस्यहरूमा श्रीजय श्रेष्ठ, अर्जुन चोखाल, इन्द्रमणि पौडेल, ईश्वरजङ राजभण्डारी, उमाकान्त शर्मा ‘बाबु’, गणेशराज लम्साल, दीपक हमाल, नवीनकुमार श्रेष्ठ, भूपाल कार्की, महेन्द्रप्रसाद शर्मा, राजु गौतम, सञ्जयकुमार श्रेष्ठ, विष्णुप्रसाद अधिकारी र विष्णुराज पन्त सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता भूमीश्वर गौतमले बताए । कार्यसमिति बैठकले पदाधिकारी चयन गर्नेछ ।