पूर्वी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गमा वर्षापछिको बाढीले डाइभर्सन बगाएको छ। विनयी त्रिवेणी गाउँपालिका– १ मा पुल बनाउँदा बनाइएको डाइभर्सन गएराति साढे २ बजे बाढीले बगाएको हो।
डाइभर्सन बगाएर अवरुद्ध बाटो बिहान पौने ६ बजेदेखि एकतर्फी मात्र खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन्। डाइभर्सन मर्मतको कार्य चलिरहेको र सडक पूर्ण रूपमा खुलाउने प्रयास भइरहेको उनले बताए।
पूर्व–पश्चिम राजमार्गका अधिकांश पुल र कल्भर्टमा अहिले डाइभर्सन बनाउने कार्य चलिरहेको छ। वर्षाअघि नै डाइभर्सनको काम सकेर पुल सञ्चालनमा ल्याउने बताइए पनि अझै पुल निर्माणकार्य सकिएका छैनन्।
राजमार्गको बुटवल–नारायणगढ खण्डको सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कम्पनीको ढिलासुस्तीका कारण सडक विस्तार कार्य चरम सुस्त गतिमा भइरहेको छ। जसले गर्दा यात्रुले सास्ती भोगिरहेका छन्। पानी नपर्दा बाटो धुलाम्मे हुने तथा सामान्य वर्षामा पनि डाइभर्सन बगाएर पटकपटक सडक अवरुद्ध हुने गरेको छ।