उपचारका लागि स्वास्थ्यकर्मीको टोली विद्यालय पठाइँदै
गुल्मीको मदाने गाउँपालिका- १ स्थित अग्लुङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा काम्ने, चिच्याउने र बेहोस हुने समस्या देखिएको छ । स्थानीय तहको निर्वाचन सुरु हुनुभन्दा अघिबाटै विद्यार्थीमा यस्ताे समस्या देखिन थालेको हाे ।प्रधानाध्यापक भविलाल खत्रीले भने, ‘छात्रहरू कराउने र चिच्याउने गर्छन् भने छात्राहरू बेहोस पनि हुने गरेका छन् ।’
केही समय रोकिए पनि विद्यार्थीमा पटक–पटक यस्ताे समस्या बल्झिने गरेको छ । अहिलेसम्म कक्षा ६ देखि १० सम्मका १७ जना विद्यार्थीमा याे समस्या देखिएको उनले जानकारी दिए ।
‘स्थानीय तहको निर्वाचन हुनुभन्दा अघिबाटै विद्यार्थीमा यस्तो समस्या आएको हो । त्यसवेलाको व्यस्तताले कतै खबर गरिएन,’ उनले भने, ‘भर्ना हुने समयमा केही भएन, तर ९ जेठबाट समस्या फेरि बल्झिन थाल्यो ।’ यस विद्यालयमा पाँच वर्ष पहिले पनि विद्यार्थीमा यस्तै समस्या देखिएको थियो ।
स्वास्थ्यकर्मीसहितको टोली अग्लुङ पुग्दै
विद्यालयमा विद्यार्थी काम्ने, चिच्याउने र बेहोस हुने गर्न थालेपछि अहिले स्वास्थ्यकर्मीको टोली अग्लुङ जाँदै छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विद्यार्थीलाई भेटघाट गरेर सबैखाले उपचारको व्यवस्था गर्न टोली पठाउन थालिएको जानकारी दिए । आफूहरूलाई पनि ढिला गरी जानकारी आएकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरेर स्वास्थ्यकर्मीसहितको टोली परिचालनको योजना बनाएको पौडेलले बताए ।