जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा कांग्रेसका चौधरी निर्वाचित

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण

जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा चौधरीले जनता समाजवादी पार्टी (जसपा) का उमेशकुमार कुर्मीलाई पराजित गरी प्रमुखमा निर्वाचित भएका हुन् । कुल १६ मतमध्ये चौधरीले १३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका कुर्मीले तीन मत प्राप्त गरे । चौधरीलाई नेपाली कांग्रेसका १२ र माओवादी केन्द्रका एकजनाले मतदान गरेका हुन् ।
 
उपप्रमुखमा नेपाली कांग्रेसकी सीता कार्की निर्विरोध निर्वाचित भएकी छिन् । उपप्रमुखमा उनको मात्र उम्मेदवारी परेकाले उनी यसअघि निर्विरोध निर्वाचित भएकी थिइन् । यस्तै समन्वय समितिको सदस्य (महिला) पदमा नेकपा (माओवादी केन्द्र) की चमेली थारू र रेवती दमाईं विजयी भएका छन् । दुवैजनाले १३-१३ मत पाए । यसैगरी जसपाकी तरन्नुन बानो शेष विजयी भइन् । उनले तीन मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मी पासीले दुई मत प्राप्त गरिन् ।

समन्वय समितिको सदस्य (खुला) मा नेपाली कांग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारू तथा दलित-अल्पसंख्यक सदस्यमा जगदीश बाल्मीकि पनि यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । बाँकेमा कांग्रेसले पाँच पालिकामा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष जितेको छ भने नेपालगन्ज उपमहानगरमा प्रमुख र खजुरा गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

जिल्ला समन्वय समिति निर्वाचनमा बहुमत पुर्याउन नौ मत आवश्यक परे पनि कांग्रेस एक्लैसँग १२ मत छ। तर, कांग्रेसले सत्तागठबन्धन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई समेट्न एक–एक सदस्य दिन खोजे पनि जसपाले अस्वीकार गरी जिससको प्रमुख र सदस्यमा उम्मेदवारी दिएको थियो । माओवादी केन्द्रले खजुरा गाउँपालिकाको अध्यक्ष जितेको छ । जसपाले नरैनापुरको अध्यक्ष, उपाध्यक्ष र नेपालगन्जको उपप्रमुख जितेको छ । 

जिससका पदाधिकारी र सदस्यले लिए शपथ
जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यले शपथसँगै पदभार ग्रहण गरेका छन्। नवनिर्वाचित प्रमुख चौधरीलाई मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै उनले उपप्रमुख कार्कीसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । शपथलगत्तै नवनिर्वाचित प्रमुख चौधरी, उपप्रमुख कार्की र सदस्यहरूले पदभार ग्रहण गरे । 
 

सुझावित समाचार