सेयर बजारमा नौ दिनपछि हरियाली

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

निरन्तर घटेको सेयर बजारमा बुधबार हरियाली छाएको छ । लगातार आठ कारोबार दिनसम्म घटेको बजारमा सुधार आएको हो । नेप्से परिसूचक ६० दशमलव २२ अंकले बढेर दुई हजार ८० दशमलव ४४ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्ग कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ११ दशमलव २५ अंकले बढेर ४ सय दशमलव ३७ बिन्दुमा पुगेको छ । 

करिब तीन प्रतिशतले बजार बढेसँगै निरन्तरको गिरावटले आत्तिएका लगानीकर्ताले सेयर बेच्न थालेका छन् । आत्तिएका लगानीकर्ताले सेयर बिक्री बढाउँदा कारोबार रकममा टेवा पुगेको छ । बजार न्यून बिन्दुमा आएपछि लगानीकर्ताले आन्दोलनसमेत गरेका थिए । लगानीकर्ताले प्रधानमन्त्रीदेखि गभर्नरलाई भेटेर पुँजी बजारमा आफूले  उठाउँदै आएको मागलाई सम्बोधन गर्न नियामक निकायसमक्ष ध्यानाकर्षण गराउन थालेका थिए ।

त्यसको प्रभावस्वरूप धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवको अवसरमा बुधबार अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार सुझाव समिति गठन गरिएको बताएका थिए । अर्थमन्त्रीबाट निकै सकारात्मक प्रतिक्रिया आएपछि बजारमा सुधार देखिएको लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘हामीले निरन्तर उठाइरहेको मागलाई अर्थमन्त्रीले सकारात्मक रूपमा लिनुभएछ भन्ने बुझियो सोअनुसारको काम समितिले गरोस् ।’

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३१ कम्पनीको ५० लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँ भएको छ । दोस्रोमा कुमारी बैंकको पाँच करोड रुपैयाँको कारोबार भएको छ भने हिमालयन डिस्टिलरी कम्पनीको चार करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, अपि पावर, एनआइसी एसिया बैंकको सेयर चार करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । फाइनान्स समूहको सूचक पाँच प्रतिशतले उच्च रूपमा बढेको छ । ‘अन्य’ समूहको सूचक तीन दशमलव ८५ प्रतिशत, निर्जीवन बिमा समूह, जलविद्युत् समूह, माइक्रोफाइनान्स समूह, उत्पादनमूलक समूह, जीवन बिमा समूहको सूचक तीन प्रतिशतभन्दा बढीले बढेका छन् । त्यस्तै, वाणिज्य बैंक र लगानीगत समूहको सूचक दुई प्रतिशत बढीले बढ्दा म्युचुअल फन्ड समूहको सूचक एक दशमलव १७ प्रतिशतले बढ्न पुगेको छ । 

उपकार लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कालिका लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले बढेका छन् ।
बढेको बजारमा माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य चार दशमलव ११ प्रतिशतले घटेको छ भने आरबिबी म्युचुअल फन्डको सेयर मूल्य दुई दशमलव ८६ प्रतिशतले घटेको छ ।

See More On

सुझावित समाचार