अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेको पुरुषतर्फको टी–२० अलराउन्ड वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दसौँ स्थानमा यथावत् छन् । गत साता मात्र दीपेन्द्र दसौँ स्थानमा उक्लिएका थिए । आइसिसीको वरीयतामा दसौँ स्थानमा समावेश हुने दीपेन्द्र एक मात्र नेपाली खेलाडी हुन् । दीपेन्द्रले एक सय ५२ रेटिङ पाएका छन् ।
दीपेन्द्रले पछिल्लो सात टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक तथा तीन अर्धशतकीय इनिङ्स खेलेका थिए । गत अप्रिलमा उनले त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियाविरुद्ध एक सय १० रन बनाएका थिए । काठमाडौंमै भएको त्रिकोणात्मक टी–२० सिरिजमा उनले पपुवा न्युगिनीविरुद्ध दुई खेलमा क्रमशः ५४ तथा ६६ रन बटुले । सात खेलमा उनले आठ विकेट लिएका छन् ।
आइसिसीले टी–२० अलराउन्डरतर्फ २० जना खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा दीपेन्द्र मात्र नेपालबाट परेका छन् । उनले विश्व चर्चित खेलाडी सेन विलियम्स तथा मिचेल मार्सलाई पछि पारेका छन् । टी–२० अलराउन्डमा अफगानिस्तानका मोहमद नाबी शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका मोइन अली दोस्रो स्थानमा छन् ।
सन्दीपले एक स्थान गुमाए
टी–२० बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछानेले एक स्थान गुमाएका छन् । नयाँ वरीयताअनुसार सन्दीप ३९औँ स्थानमा छन् । सन्दीपले चार सय ९० रेटिङ अंक पाएका छन् । उनीभन्दा अगाडि ३८औँ स्थानमा मिचेल स्टार्क छन् । ४०औँ स्थानमा श्रीलंकाका लाहिरु कुमारा छन् ।
सन्दीपले पछिल्लो सात टी–२० अन्तर्राष्ट्रिय खेलमा नौ विकेट लिएका छन् । काठमाडौंमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा उनले मलेसियाविरुद्ध सर्वाधिक तीन विकेट लिएका थिए । बलिङ वरीयतामै नेपालका अविनाश कर्ण ८९औँ स्थानमा यथावत् रहे । उनले तीन सय ९३ रेटिङ पाएका छन् । अविनाशभन्दा एक स्थान अगाडि इंग्ल्यान्डका जोफ्रा आचर छन् । ९०औँ स्थानमा अफगानिस्तानका नाभिद मुरिद छन् ।
यसैगरी टी–२० ब्याटिङ वरीयतामा नेपालका ओपनर कुशल भुर्तेलले एक स्थान गुमाए । उनी ३७औँ स्थानबाट ३८औँ स्थानमा पुगेका छन् । कुशलले पाँच सय तीन रेटिङ अंक बटुले । कुशलभन्दा एक स्थान तल इंग्ल्यान्डका जोनी वैरिस्टाउ छन् ।
आसिफ ९९औँ स्थानमा
यसैगरी टी–२० अलराउन्डरमा दसौँ स्थानमा रहेका दीपेन्द्रसिंहको टी–२० ब्याटिङतर्फको स्थान ओरालो लागेको छ । नयाँ वरीयताअनुसार दीपेन्द्र ४०औँ स्थानमा छन् । उनले चार सय ९८ रेटिङ पाएका छन् । टी–२० ब्याटिङ वरीयतामा नेपालका आसिफ सेख ९९औँ स्थानमै रहे । उनको स्थान परिवर्तन भएको छैन । सेखले तीन सय ७४ रेटिङ अंक पाएका छन् ।