तीन लाख टन मल आवश्यक, तर गोदाम रित्ता

भारतका कृषिमन्त्री र रसायनमन्त्रीसँगको भेटपछि मलको आपूर्ति डेढ साताभित्र हुने कृषिमन्त्री महेन्द्र राय यादवको दाबी

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

मुुख्य सिजनमा करिब तीन लाख टन मल चाहिने भए पनि अहिले सरकारी गोदाममा युरिया मल लगभग शून्यको अवस्था छ । नेपालमा मल आयात गर्ने दुुई आधिकारिक संस्था कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका गोदाम खाली छन् । डिएपी मल १५ सय र पोटास ६ हजार टन मल मौज्दात छ ।  कृषि सामग्रीले ४१ वटा कार्यालय र पाँच हजार तीन सय सहकारीमार्फत देशभर मल वितरणको जिम्मा लिएको छ । 

त्यस्तै, अर्को अर्धसरकारी साल्ट ट्रेडिङ कम्पनीका प्रवक्ता कुुमारराज भण्डारीले मल आइपुग्न अझै एक महिना लाग्ने बताएका छन् । उनले भने, ‘डिएपी मल २० हजार मेक्ट्रिटन अहिले कलकता आइपुुगेको छ, युुरिया २२ हजार इन्डोनेसियामा लोड हुने अवस्थामा छ । सबै मल नेपाल आइपुुग्न अझै असारको तेस्रो सातासम्म लाग्न सक्छ ।’  

सरकारले फर्टिलाइजर कम्पनीबाट मल ल्याउन नसक्ने अवस्थामा अन्य कम्पनीमार्फत पहल गर्नुपर्ने कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुुर कार्कीले बताए । ‘मल खरिदका लागि छुुट्टै कानुुन हामीसँग छैन, सार्वजनिक खरिद ऐनलगायत अन्य कानुनी प्रक्रियाले मल ल्याउन समय लागेको हो,’ कार्कीले भने ।

कानुनी प्रक्रियाकै कारण मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुुमार सन्जेलले बताए । ‘अनेक कानुुनी प्रक्रिया झेल्दा मल समयमै ल्याउन सकिएन, जिटुुजीमार्फत भारतबाट सजिलै मल आउला भन्ने थियो, तर भारतले पनि टेन्डर गरेर मल दिनेरहेछ भारतलाई नै मल ल्याउन सकस भइरहेको छ ।’ सम्झौताअनुुसार चालू आर्थिक वर्षको पहिलो चरणमा (०७८/७९)मा एक लाख ५० हजार टन मल उपलब्ध गराउनुपर्नेछ । मन्त्रालयका अनुसार खरिद हुने मलमध्ये ६० प्रतिशत युरिया र ४० प्रतिशत डिएपी छ । 

कृषिमन्त्री भन्छन्– मल चाँडै उपलब्ध गराउन भारत सहमत
जिटुजी प्रक्रियामार्फत नेपाललाई रासायिनक मल छिट्टै आपूर्ति गर्न भारत सहमत भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच नेपालमा मलको आपूर्ति छिट्टै गर्ने समझदारी भएको हो । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादव र भारतका कृषि तथा किसान कल्याणमन्त्री नरेन्द्रसिंह तोमरबीच बुधबार भएको भेटवार्तामा मल आपूर्तिलगायत कृषिका समस्या छिटो सुल्झाउने समझदारी भएको हो ।

कृषिमा साझेदारीका लागि हुने नयाँ समझदारीलाई छिट्टै अन्तिम रूप दिन दुई देश सहमत भएका छन् । भेटका अवसरमा मन्त्री तोमरले सबैखाले सम्भावित साझेदारीका लागि  प्रतिबद्धता व्यक्त गरे । भारतले कृषि क्षेत्रको अनुसन्धान र विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री तोमरले नेपालले पनि यसबाट सिक्न सक्ने बताए । त्यसअघि मन्त्री यादवले कृषि प्रविधि, क्वारेन्टिनका मुद्दा, पशुका लागि चाहिने खोपको आपूर्ति, मलको आपूर्तिलगायतमा सघाउन आग्रह गरेका थिए । 

कृषिमन्त्री यादवले मंगलबार भारतका रसायन एवं उर्वर मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल मन्डाबियासँग मल आपूर्ति छिटो गराउने विषयमा छलफल गरेका थिए ।  भारत भ्रमणमा भएको भेट तथा छलफलपछि नेपालमा मलको आपूर्ति छिट्टै हुनै सुनिश्चित भएको कृषिमन्त्री यादवले जानकारी दिए । उनले अबको एक–डेढ हप्ताभित्र नेपाली किसानले सुलभ तरिकाले मल पाउने सुनिश्चित भएको जानकारी गराएका हुन् । भारतसँग यसअघि नै जिटुजी प्रणालीबाट नेपालले मल खरिद गर्ने सम्झौता भइसकेको छ । पाँच वर्षका लागि भएको सम्झौताअनुसार भारतले पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिनेछ । 

तर, सम्झौता भए पनि भारतबाट मल आउन ढिलाइ भइरहेको थियो । तर, सम्झौताअनुसार मल आउन ढिलाइ भएपछि सोही विषयमा छलफल गर्न कृषिमन्त्री आफैँ भारत भ्रमणमा गएका हुन् । भ्रमणका क्रममा त्यहाँ कृषिमन्त्री र रासायनमन्त्रीसँग छलफल गरेपछि मल आउने सुनिश्चित भएको मन्त्रीको सचिवालयले जनाएको छ । 
 

See More On

सुझावित समाचार