नयाँ पत्रिका दैनिकका जिल्ला ब्युरो प्रमुख दीपक अधिकारी हेटौँडामा सम्मानित भएका छन्। अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार, २०७८ बाट सम्मान गरिएको हो।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले आइतबार एक समारोहबीच नयाँ पत्रिकाकर्मी अधिकारीसहित सातजनालाई सम्मान तथा पुरस्कृत गरेको हो। संघले चार पत्रकार र तीन चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो।
संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, २०७७ बाट विदुर गिरी, चलचित्र पत्रकारिता पुरस्कार, २०७७ बाट गोरखापत्र दैनिकका बागमती ब्युरो प्रमुख राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान, २०७७ बाट प्रेम भोम्जन (पुष्कर लामा)लाई सम्मान गरेकोे छ।
यसैगरी, चलचित्र कलाकर्मी सम्मान, २०७८ बाट अभिनेता राज कटुवाललाई सम्मान गरिएको छ। चलचित्र पत्रकारिता पुरस्कार, २०७९ बाट दीपज्योति थापा तथा चलचित्र कलाकर्मी सम्मान, २०७९ बाट चलचित्र लेखक तथा निर्देशक शिवम् अधिकारी सम्मानित भएका छन्। कार्यक्रममा संघका अध्यक्ष मणिराज गौतमलाई नेपाल पत्रकार महासंघ मकवानपुरको नेतृत्व गरेको र संघमा योगदान पुर्याएको भन्दै आभारपत्र प्रदान गरिएको थियो।
संघका कार्यवाहक अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।