मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका नेता जीवनकुमार श्रेष्ठको मृत्यु भएको छ। गत शुक्रबार मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका ५८ वर्षीय नेता श्रेष्ठको उपचारका क्रममा आज (आइतबार) काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।
दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– १ दिक्तेल बजारस्थित आफ्नै घरअगाडि प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएपछि हेलिकोप्टर चार्टर गरेर शुक्रबार नै अस्पताल पुर्याइएका नेता श्रेष्ठलाई अस्पतालले तीन दिनपछि मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रविन चाम्लिङले जानकारी दिए।
अस्पतालले नेता श्रेष्ठलाई मृत घोषणा गरेपछि आजै दिउँसो तीन बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा दाह संस्कार गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ। नेता श्रेष्ठलाई दिक्तेल बजारस्थित किराँतचोकबाट पुरानो बेसक्याम्पतर्फ जाँदै गरेको मोटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो। पछाडिबाट तीव्रगतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा जिल्लामा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो। भ्रष्टाचार तथा अनियमितताको विरोधी एवं प्रस्ट वक्ताका रूपमा चिनिने नेता श्रेष्ठ राप्रपा खोटाङका सल्लाहकार एवं निवर्तमान अध्यक्ष थिए।
ठक्कर दिने मोटरसाइकलमा सवार दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका– ५ लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई पनि घाइते भएकी छिन्। श्रेष्ठसँगै हेलिकोप्टरमा काठमाडौं पठाइएकी राईको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररत घाइते राईको अवस्था सामान्य हुँदै गएको आफन्तले बताएका छन्।
दुर्घटनालगत्तै मोटरसाइकलचालक सोही नगरपालिका– ५ लफ्याङका १७ वर्षीय अभिषेक राई र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलचालक अभिषेक घाइते विष्णुकुमारीको छोरा रहेको प्रहरीले जनाएको छ।
प्रहरी नियन्त्रणमा रहेका अभिषेकको सवारीचालक अनुमतिपत्रसमेत नरहेको प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते नेता श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि प्रहरी नियन्त्रणमा रहेका अभिषेकविरुद्ध मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।
नेता श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। मृतक श्रेष्ठको पार्थिव शरीरमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले दिउँसो तीन बजे आर्यघाटमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
मृतक नेता श्रेष्ठकी एक श्रीमती, दुई छोरी र एक छोरा छन्। मृतक नेता श्रेष्ठका दाजु नरेशकुमार श्रेष्ठ नेपाली कांग्रेस खोटाङका निवर्तमान जिल्ला सभापति एवं महासमिति सदस्य छन्।