डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । शुक्रबार ब्रान्डवर्थ प्रालिद्वारा काठमाडौंमा आयोजित ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले डिजिटल इकोनोमीलाई दिगो आर्थिक विकासमा रूपान्तरण गर्नुपर्ने बताए ।
सूचना प्रविधिको विकासविना मुलुकको विकाससमेत असम्भव भएको बताउँदै मन्त्री कार्कीले दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले सहयोग गर्ने बताए । ‘सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको हो,’ उनले भने, ‘यसलाई अझ सस्तो, गुणस्तरीय बनाउन पनि सरकार सकारात्मक रहेको छ ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटलाइजेसनको विकास उत्साहजनक रहेको बताए । कोरोना कालपछि नेपालले डिजिटल पेमेन्टमा फड्को मारेको उनको भनाइ थियो ।
‘एक–दुई वर्षअघि यस्ता कार्यक्रमहरूमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज हुन्छ भनेर प्रश्न आउँथ्यो, तर अहिले त्यस्तो प्रश्न आउने अवस्था छैन,’ उनले भने, ‘पछिल्लो दुई वर्षमा नेपालको अर्थतन्त्र व्यापक रूपमा डिजिटलाइज भएको छ ।’
‘मैले ०७७ पुस १० गते नक्सालको तरकारी बजारमा क्युआर पेमेन्ट सुविधाको उद्घाटन गरेको थिएँ, त्यसवेला छोटो समयमै नेपालीको भुक्तानी प्रणाली यो स्तरमा आउला भन्ने थिएन,’ गभर्नर अधिकारीले भने, ‘आजको दिनसम्म आउँदा अधिकांश क्षेत्रमा अनलाइन भुक्तानीको सुविधा विस्तार भएको छ ।’
कन्क्लेभमा विभिन्न चार सत्रमा विभिन्न विषयमा प्यानल छलफल गरिएको थियो । एकदिने कन्क्लेभमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताए ।
साथै, व्यवसाय गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन गर्नुपर्नेे उनको भनाइ छ । ‘हामीले विगत १८ वर्षदेखि डिजिटल ट्रान्सफर्मेसनलगायतका व्यवसायमा काम गर्दै आएका छौँ । यसबीचमा हामीले धेरै दुःख पायौँ,’ उनले भने, ‘तर, अब आउने नयाँ उद्यमीहरूले हामीले जस्तो दुःख पाउनुहँुदैन । सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ ।’